धरान । धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा यसवर्षदेखि कानून विषयको पढाइ सुरु हुने भएको छ ।

स्कुलले कक्षा ११ का विद्यार्थीहरूलाई कानून विषय पढाउने भएको हो । स्कुलले शनिबार कानून शिक्षाका विषयमा अन्तरक्रियासमेत आयोजना गरेो छ ।

अन्तरक्रियामा अधिवक्ता दर्शन राईले ‘धरानमा कक्षा ११ र १२ मा कानून विषय शिक्षण’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कार्यपत्रमा वर्तमान समयमा कानून हरेक नागरिकलाई आवश्यक पर्ने भएकाले कक्षा ११ र १२ मा कानून विषय पठन–पाठन गरिनु उचित हुने उल्लेख गरेका छन् ।

कार्यक्रममा अधिकांश वक्ताहरूले कानून शिक्षा वर्तमान आवश्यकता भएको बताएका थिए । कार्यक्रममा पब्लिक हाईस्कुलका प्राचार्य इन्द्रमोहन झा, अधिवक्ताहरू दीपककुमार बुढाथोकी, सूर्यबहादुर राई र विश्वगोपाल अधिकारी तथा अभिभावकहरू अञ्जना चेम्जोङ, मीना श्रेष्ठ, लोकबहादुर तामाङलगायतले बोलेका थिए ।

सोही अवसरमा धरान उपमहानगरपालिकाका नवनिर्वाचित उपप्रमुख अइन्द्रविक्रम बेघा र धरान–१५ का वडाध्यक्ष नरेश इवारमलाई सम्मानसमेत गरिएको थियो । स्कुलका प्रिन्सिपल गङ्गाराम राईले यसपालिदेखि कक्षा ११ मा कानून विषय पढाइ हुने र त्यसका लागि विद्यार्थीहरू सोधीखोजी गर्न आइरहेको बताए ।