विजयपुर । प्रदेशस्तरीय एसईई स्टेट १ सिङ्गिङ आइडल सिजन २ र डान्सिङ आइडल सिजन–१ को धरान अडिसनमा ३० जना छनोट भएका छन् ।

फक्ताङ्लुङ मिडिया हाउसको आयोजना तथा एफटिएल अनलाइन टिभीको सहकार्यमा शनिबार सम्पन्न अडिसनमा ३० जना छनोट भएका हुन् । धरान–१६ स्थित युएन कलेजमा लिइएको अडिसनमा ६८ जना सहभागी बनेका थिए ।

नृत्यतर्फ ३४ मध्ये १३ जना छनोट भएका छन् भने गायनतर्फ ३४ सहभागीमध्ये १७ जना छनोट भएका छन् । गायनतर्फ भोइस अफ नेपाल सिजन–२ का फाइनलिस्ट विकास लिम्बू र सङ्गीतकार विनायक राई रहेका थिए भने नृत्यतर्फ छमछमी सिजन–३ कि फस्ट रनर अप मनिता राई र डान्स कोरियोग्राफर पृतम साम्बाहाम्फे रहेका थिए ।

दुवै विधाका विजेताले नगद ५० हजार र प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाउनेछन् । त्यस्तै दोस्रो हुनेले नगद ३० हजार र प्लस टु अध्ययन गर्न ५० प्रतिशत छात्रवृत्ति पाउने आयोजकका प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए ।

त्यस्तै तेस्रो हुनेले नगद १५ हजार र प्लस टु अध्ययन गर्न ५० प्रतिशत छुट पाउने जनाइएको छ । दोस्रो अडिसन जेठ २१ गते हुने भएको छ भने फाइनल असार १८ गते गरिने आयोजकले जनाएको छ ।