धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ धरानका खानेपानी उपभोक्तालाई जसरी पनि खानेपानी आपूर्ति गर्न पदभार गरेलगत्तै ‘एक्सन’ मा उत्रिएका छन् । वर्षायाम सुरु हुन लाग्दा पनि धरानमा यतिबेला खानेपानीको चरम् अभाव रहेको छ ।

नेपाल खानेपानी संस्थान धरान शाखाको सम्पत्ति, दायित्व र जिम्मेवारी धरान खानेपानी व्यवस्थापन बोर्डमा गतवर्ष नै हस्तान्तरण गरेर संस्थान र नयाँ आयोजनाबाट पानी उत्पादन गरेर पनि पर्याप्त मात्रामा पानी वितरण गर्न नसकेपछि बोर्ड आलोचित हुँदै आएको छ । यसैबीच खानेपानी समस्यालाई आफ्नो चुनावी एजेन्डा बनाएर मतदाता आकर्षित गर्न सफल भएका नवनिर्वाचित प्रमुख साम्पाङ धरानका उपभोक्तालाई पानी खुवाउन ‘एक्सन’ मै उत्रेका हुन् ।

निर्वाचित भएलगत्तै उनले आफू कुर्सीमा बसिरहने भन्दा पनि फिल्डमा व्यस्त हुने बताएका थिए । उनले बताएअनुसार नै पदभार ग्रहण गरेलगत्तै शाखा मुहान खर्दुमा पुगेका थिए भने चारकोसे जङ्गलमा रहेको संस्थानको ४ नम्बर डिप ट्युवेल बिग्रेकोले पुरानो पम्प मर्मत गर्न निर्देशन दिएका थिए । बोर्डको नियमावलीमा उपमहानगरको प्रमुख बोर्डको अध्यक्ष हुने प्रावधानअनुसार अध्यक्षको पदभार ग्रहण गरेपछि व्यवस्थापक निर्देशक, प्राविधिक र अन्य सबै कर्मचारीलगायतलाई खानेपानीबारे उपभोक्ताको गुनासो आउन नदिने गरी काम गर्न निर्देशन दिएको निर्देशक इन्जिनियर राजु पोखरेलले बताए । बोर्ड अध्यक्ष साम्पाङलाई उद्धृत गर्दै निर्देशक पोखरेलले भने, ‘खानेपानी वितरण चुस्त दुरुस्त नबनाए फेरि धरानमा अर्को हर्कराज साम्पाङ जन्मनेछ ।’

खानेपानी समस्याका बारेमा साम्पाङ सडकमा अन्दोलित भइरहँदा बोर्डका निर्देशक पोखरेलसँग कडा रूपमा वादविवादसमेत परेको थियो । उनीहरूबीचको वार्तालाप सामाजिक सञ्जालमा भाइरल नै भएको थियो । साम्पाङले आफू पहिले प्रश्न गर्ने अभियन्ताको रूपमा रहेको तर, अहिले भने जनताले चुनावमार्फत् धरान उपमहानगरको प्रमुख पदमा जिताएपछि पहिले आफूले गरेको प्रश्नको उत्तर दिने ठाउँमा पुर्याएकाले खानेपानीजस्तो संवेदनशील विषयमा आफू पनि लागिपरेको बताए ।

बोर्डमा उनले आफूलाई धराने जनताले पानी खुवाउनकै लागि प्रमुख बनाएर पठाएको धारणा राख्दै भने, ‘विगतमा जनताको आवाजको रूपमा दबाव दिँदै हिँडेको थिएँ । तर, अहिले बोर्डको अध्यक्षको रूपमा आएर खानेपानीको समस्या समाधानका लागि एउटै टिममा आइसकेको छु । अब मिलेर काम गर्नुको विकल्प छैन । अब हाम्रो यो टिमको मुख्य उद्देश्य नै धरानका जनतालाई पानी खुवाउनु हो ।’

खानेपानीको समस्या समाधान गर्न अरू विकल्प पनि खोज्नुपर्ने बताए । उनले भने, ‘वितरण प्रणालीमा समस्या देखिएको छ । पम्प, पाइपलाइनहरू कहाँ के के मर्मत सम्भार गर्नुपर्ने हो, त्यो सबै गर्नुपर्छ । टिम नै मिलेर काम गर्नुपर्यो ।’ नयाँ आयोजनाको पाइपलाइन र संस्थानको पाइपलाइनबीच अझै इन्टरलिङ्क गर्न बाँकी नै छ । अहिले पनि खानेपानी समान रूपमा वितरण हुन सकेको छैन । उपभोक्ताका धारामा कतै रातदिन पानी आउने गरेको छ भने कतै थोपा नझरेकाले वितरणमा समस्या देखिएको छ । एउटै उपभोक्ताले नयाँ र पुरानो दुवै प्रणालीबाट पानी प्रयोग गरेपनि महसुल भने एउटा सिस्टमको मात्र तिर्ने भएकाले वार्षिकरूपमा कम्तिमा २ करोड रुपैयाँ बढीको पानीको चुहावटसमेत बोर्डले रोक्न सकेको छैन । 

नवनिर्वाचित प्रमुख साम्पाङले खानेपानीको स्थलगत निरीक्षण गरेर बोर्डका कर्मचारीलाई पानी आपूर्ति सहज बनाउन निर्देशन दिएपछि शुक्रबार बिहानदेखि चारकोसे जङ्गलस्थित पुरानो संरचनाको बिग्रेको ४ नम्बर पम्प मर्मत भइरहेको र रातिदेखि त्यसलाई प्रयोगमा ल्याउने व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले बताए । पोखरेलले भने, ‘मेयर सा’पले निरीक्षण गरेर मर्मतका लागि निर्देशन दिएलगत्तै बिग्रेको पम्प मर्मत गरिएको छ । शुक्रबार रातिदेखि नै पम्प प्रयोगमा ल्याउनेछौं ।’ उनले उक्त पम्पमार्फत् डिप ट्युवेलबाट कम्तिमा २२ लाख लिटर पानी उत्पादन हुने बताए ।