विराटनगर ।  विराटनगरस्थित न्यूरो अस्पतालले अस्पतालमा कार्यरत  नर्सहरूलाई विशेष सम्मान गरेको छ । 

अन्र्तराष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर विराटनगरमा एक भव्य समारोहको बिच नर्सहरुलाई सम्मान कार्यक्रम आयोजना गरेको हो । 

प्रत्येक बर्ष १३ मईका दिन अन्र्तराष्ट्रिय नर्सिङ दिवस मनाउने गरिन्छ । यसपटक स्थानीय तहको निर्वाचनको दिन परेकाले केहि ढिलागरि नर्सिङ दिवसको कार्यक्रम आयोजना गरिएको न्यूरो अस्पतालका अपरेशनल डाईरेक्टर राजेश भट्टराईले बताए । 

अस्पतालमा उत्कृष्ठ कार्य सम्पादन गर्ने ५० जना नर्स र ३ जना ईन्चार्जहरुलाई अस्पतालले विशेष सम्मान गरेको मेट्रोन सुम्निमा घिमिरेले जानकारी दिइन् । सम्मानित भएका नर्सहरुलाई न्यूरो अस्पतालका अध्यक्ष वरिष्ठ न्यूरोलोजिष्ट डा. बिरेन्द्र कुमार बिष्ट, कार्यकारी निर्देशक  अनिसा बिष्टलगायतले नर्सहरुलाई दोसल्ला र कदरपत्र सहित सम्मान गरेका थिए । 

कार्यक्रममा अस्पतालका बरिष्ठ न्यूरोसर्जन डाक्टर याम बहादुर रोक्का,न्यूरोले संचालन गरेको कोभिड अस्पतालका हेड म्याट्रोन सुम्निमा बस्नेत,नर्सिङ क्याम्पसका डाक्टर टिका निरौला लगायतलाई समेत सम्मान गरिएको थियो । सो अवसरमा सहभागि नर्स स्टाफहरुले सरसफाई र स्वास्थय सचेतनासंग सम्बन्धित नृत्य र गीतहरु समेत प्रस्तुत गरि मनोरञ्जन प्रदान गरे ।

यसैबीच सोहि अवसरमा अस्पतालले गाईनोकोलोजिष्ट डाक्टर शैलजा क्षेत्रीलाई अस्पतालको मेडिकल डाईरेक्टर घोषणा गरेको छ । अस्पतालका अध्यक्ष बिष्टले क्षेत्रीलाई मेडिकल डाईरेक्टरकोरुपमा सम्मान गरे । 

कार्यक्रममा न्यूरोका नर्स स्टाफहरुले अस्पतालमा बिर्सजन हुने फोहोरबाट कलात्मक आकृतिहरु बनाएर प्रर्दशन समेत गरेका थिए । सो अस्पतालमा दुईसय बढी नर्स स्टाफहरु कार्यरत रहेको जनाइएको छ ।