सोल । दक्षिण कोरियामा विभिन्न निकायमा प्रतिनिधि चयनका लागि शुक्रबार मतदान भएको छ । 

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार शुक्रबार स्थानीय तहको नेतृत्व, गभर्नर र स्थानीय परिषद सदस्य चयनका लागि मतदान भएको हो । 

 स्थानीय समय अनुसार शुक्रबार र शनिबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मतदान गर्न पाइने तय निर्वाचन आयोगले गरेको थियो । शुक्रबारको मतदान भइसकेको छ भने शनिबार पनि मतदान हुनेछ । 

कोरोना भाइरसबाट सङ्क्रमित भइ क्वारेन्टाइनमा रहेकाहरूलाई शनिबार बेलुका ६।३० पछि साढे एक घण्टा समय निर्धारण गरिएको पनि आयोगले जनाएको छ । 

निर्वाचनका लागि देशभरी तीन हजार ५५१ ओटा मतदान केन्द्रहरु तोकिएको छ । 

आयोगका अनुसार अहिलेको निर्वाचनबाट १७ जना मेयर र प्रान्तीय गभर्नर निर्वाचित हुनेछन । त्यसैगरी २२६ जना स्थानीय परिषद् प्रमुख र ८७२ जना नगर सदस्य तथा प्रान्तीय परिषद् सदस्यहरू चयन हुने निर्वाचन आयोगले जनाएको छ । 

आयोगले स्थानीय परिषद सदस्यका रुपमा दुई हजार ९८८ जनालाई छनौट गर्ने भएको छ भने सात सांसद पनि अहिलेको निर्वाचनबाट निर्वाचित हुने छन् । 

अहिले दक्षिण कोरियामा चार करोड ४३ लाख तीन हजार ४४९ जना मतदानका लागि योग्य रहेका छन् ।