धरान । नागरिकता विना कुनैपनि सरकारी कार्यालयबाट सेवा प्राप्त गर्न सकिँदैन । किनभने नागरिकता भन्नु नै राष्ट्रियताको परिचायक पनि हो । तर, अझै पनि कतिपय नागरिकले नागरिकताको प्रमाण–पत्र पाउन सकेका छैनन् ।
५३ वर्षीया सुजता पाठक र २० वर्षीय उनका छोरा नागरिकताको प्रमाण–पत्र नहुँदा समस्यामा परेका हुन् । हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फिस्टुलाको उपचार गराइरहेकी पाठक नागरिकता नहुँदा उपचारका लागि पनि समस्या भएको बताउँछिन् । तेह्रथुमको आठराईमा जन्मिएकी उनी सानै छँदा बाबुआमा बितेको बताउँछिन् ।
बाबुआमा बितेपछि उनी अर्काको घरमा काम गर्न थालिन् । अरूका घरमा काम गर्दागर्दै उनको विवाह भयो । श्रीमान् पनि बिजुली वायरिङको काम गर्थे । २०५९ मा उनी ९ महिनाकी गर्भवती रहेका बेला श्रीमान् एकाएक बेपत्ता भए । आर्थिक अवस्था कमजोर भएका उनीहरू भाडामा बस्थे । श्रीमान्ले कमाएको पैसाले भाडा तिर्ने, जीविकोपार्जन गर्ने गर्थे तर, काम गर्न भनेर घरबाट हिँडेका श्रीमान् नफर्किएपछि उनी बेसहारा भइन् ।
त्यसपछि धरानको एउटा मन्दिरमा आश्रय लिएर बस्न थालिन् । गर्भावस्थामा उनले पोषिलो खानेकुरा त के, भेटभरि खाना पनि पाइनन् । त्यसैले उनलाई रोगी बनायो । अस्पतालको शय्यामा अप्रेसनको पालो पर्खिरहेकी उनलाई अहिले आफ्नो स्वास्थ्यको भन्दा बढी चिन्ता चाहिँ छोराको भविष्यको छ । किनभने उनका छोराले १२ कक्षा पास गरे पनि नागरिकता नहुँदा काम पाउन सकेका छैनन् । उनी भन्छिन्, ‘छोराले मेरो नागरिकता नबन्ने भए, किन जन्माइस् भनेर गुनासो गर्छ, मेरै नागरिकता छैन, उसलाई के जवाफ दिनु ?’
हाल उनी मोरङको सलकपुरस्थित प्रणामी मन्दिरमा सरसफाइको काम गर्दै जीविकोपार्जन गरिरहेकी छन् । छोराले स्कुल र ट्युसनमा पढाउन सक्ने भएपनि नागरिकता नहुँदा जागिर पाउन नसकेको उनको भनाई छ । भन्छिन्, ‘नागरिकता नहुँदा होटलतिर काम पाउन पनि गाह्रो छ । म पनि केही गर्न सक्दिंन ।’
उनीसँग आफ्नै नागरिकता समेत नहुँदा छोराको नागरिकताको प्रक्रिया अघि बढाउन पनि समस्या छ । श्रीमान्को नागरिकता भए पनि उनी नागरिकतासमेत लिएर हिँडेपछि आफूलाई समस्या भएको उनी बताउँछिन् । ‘मेरो पनि नागरिकता भए, एकल महिला भत्ता पाउँथे होला । पछि वृद्धभत्ता पनि आउँथ्यो होला ।’ उनी भन्छिन्, ‘मेरो घर पनि छैन, कसलाई भन्नु, कहाँ जानु ? समस्यै समस्या छ ।’
फिस्टुलाकी बिरामी उनको उपचार भने फिस्टुला फ्रि नेपालको सहयोगमा बीपी प्रतिष्ठानमा निःशुल्क भइरहेको छ । तर, कतिपय सरकारी प्रक्रियामा निःशुल्क उपचार गराउनका लागि पनि नागरिकता आवश्यक पर्ने भएकाले समस्या भएको प्रतिष्ठानको प्रसूति विभागका विशेषज्ञ प्रा.डा.मोहनचन्द्र रेग्मी बताउँछन् ।
उनी भन्छन्, ‘हामीले उहाँको सबै कुरा बुझेर व्यावहारिकताका हिसाबले उपचार गरिरहेका छौं तर, नागरिकता नहुँदा उहाँलाई धेरै समस्या रहेछ । सम्बन्धित निकायले खोजी गरिदिन आवश्यक छ ।’