धरान । पाककलाका माध्यमबाट विश्वभर चिनिएका नेपालका मास्टरसेफ सन्तोष साहमाथि फिल्म निर्माण गरिने भएको छ ।

उनको जीवनीलाई आधार बनाएर निर्देशक दीपक रौनियारले फिल्म बनाउने घोषणा गरेका हुन् । साह ‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स २०२१’ का उपविजेता हुन् ।

उपविजेतापश्चात् उनी एकाएक सेलिब्रेटी बनेका थिए । उनको बाल्यकालदेखि सेफसम्म आउँदाको दुनियाँबारे फिल्ममा समेटिने भएको हो । हाल फिल्म निर्माणकै लागि रौनियारले उनीसँग संवाद गरिरहेका छन् । केही समयपश्चात् छायाङ्कनमा जान सक्ने निर्देशक रौनियारले बताएका छन् ।

उनले गरेको जीवन सङ्घर्ष तथा उपलब्धिलाई पनि फिल्ममा समेटिने भएको छ । उनको जीवन अन्यका लागि पनि प्रेरणादायी हुने भएकाले पनि फिल्म निर्माण गर्न लागेको रौनियारले बताएका छन् ।

मास्टरसेफ साहसँगको संवादपछि स्क्रिप्ट लेखिने तयारी गरिएको छ । साहलाई हाल नेपाल सरकारले पर्यटन दूतका रूपमा नियुक्त गरेको छ । १५ वर्षको उमेरमा भारतको गुजरातमा काम गर्न थालेका उनले दश वर्ष विभिन्न होटलमा भाँडा माझ्ने काम गरेको बताएका थिए ।