संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रुपमा त्यहाँका सर्वसाधारण नागरिकहरुमाथि भइरहेका हमलाको निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको मंगलबारको बैठकले सो निन्दा गरेको हो ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको सो बैठकले पछिल्ला हप्तामा अफगानिस्तानमा सर्वसाधारण नागरिकमाथि नै लक्ष्य गरेर हिंसात्मक आक्रमणका घटना हुनु दुःखद भएको जनाएको हो ।  

पछिल्ला हप्ताहरुमा हत्या हिंसाका शृंखला बढ्दै गएका र यी आक्रमणहरुले यहाँका सर्वसाधारण नागरिकहरुलाई लक्ष्य बनाएको भन्दै यसप्रति सुरक्षा परिषदले चिन्ता व्यक्त गरेको छ । सो परिषदले मंगलबार प्रकाशन गरेको विज्ञप्तिमा अफगानिस्तानमा मजार ए शरिफमा रहेको मस्जिदमा गत बिहीबार गरिएको हमलाका साथै अन्य आक्रमण  हुँदा कैयौँ नागरिकको ज्यान गएको घटनाको निन्दा गरिएको थियो ।

साथै सो विज्ञप्तिमा गत शुक्रबार कुन्दुजमा दुई बसमा बम हमला भएको र सर्वसाधारण नागरिकको ज्यान गएको थियो घटनाको पनि निन्दा गरिएको छ ।अफगानिस्तानमा जारी रहेका यी आतंककारी हमलाहरुको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले निन्दा गर्दै यस्ता हमलाका दोषीमाथि कडा कारबाहीको माग गरिएको छ ।