धरान । कलाकार तथा गायक याशेली योङ्हाङ धरानमा नगदसहितले सम्मानित भएका छन् ।

चक्रबहादुर पालुङ्वा फाउन्डेसन धरानले बुधबार मास्टर स्वर्गीय चक्रबहादुर पालुङ्वाको ८८ औं जन्मजयन्तीको अवसरमा उनलाई २० हजार नगदसहित सम्मान–पत्रले सम्मानित गरेको हो ।

पाँचथर निवासी याशेलीले लामो समयदेखि काठमाडौँलाई कर्मथलो बनाइरहेका छन् । बहुमुखी प्रतिभाका धनी उनलाई विभिन्न क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मानित गरिएको फाउन्डेसनका सल्लाहकार तथा स्व.चक्रबहादुरका जेठा छोरा केपी पालुङ्वाले बताए ।

होटल पूर्वीस्टारमा कार्यक्रम गर्दै बुबाको जन्मजयन्तीका अवसरमा धरान–८ स्थित ल्यावोरेटरी माविका रोमन थापालाई १३ हजार ५ रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको फाउन्डेसनका अध्यक्ष डा. योगेन्द्र पालुङ्वाले जानकारी दिए । थापा कक्षा १२ मा अध्ययरत छन् । फाउन्डेसनले हरेक वर्ष एकजना विद्यार्थी र एकजना विभिन्न क्षेत्रमा योगदान दिने स्रष्टाहरूलाई सम्मानित गर्दै आइरहेको उनले बताए ।

कार्यक्रममा विशेष अतिथि भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपानेले मास्टर चक्रबहादुरले शिक्षा र समाज सुधारको क्षेत्रमा ठूलो योगदान दिएको भन्ने विषयमा पुस्तकबाट थाहा पाएको बताए । मास्टर चक्रबहादुरले आफ्ना सन्तानहरूलाई सुशिक्षित तथा शालिन बनाउनमा जुन भूमिका खेलेका छन्, त्यो लिम्बू समुदायका लागि महत्वपूर्ण योगदान रहेको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि २०७८ सालका मदन पुरस्कार विजेता भगीराज इङ्नामले कृति पढ्दा मास्टर चक्रबहादुर सामाजिक कार्यकर्ता, इतिहासविद्, संस्कृतिविद्को भूमिकामा देखिएको बताए । उनले हरेक दृष्टिबाट मास्टर चक्रबहादुर पूर्ण भएजस्तो लाग्ने बताए ।

कृति हेर्दा कथा हो कि, उपन्यास हो कि, संस्मरण हो कि जस्तो लाग्ने उनले बताए । उनले कृतिका माध्यमबाटै मास्टर चक्रबहादुरको योगदानलाई चिन्न सकिने पनि बताए । उनले कृतिमार्फत् चार पुस्तालाई संवाद गराउन सफल भएको पनि बताए ।