विराटनगर । ठेक्का लागेर निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि मोरङ कानेपोखरी–२ मा बन्दै गरेको गेउरिया खोलाको पुल निर्माणमा ढिलाइ  भएको छ । निर्माण कम्पनीको लापरबाही र ढिलासुस्तीको कारणले कानेपोखरी–रंगेली जोडेन सडक खण्ड अन्तर्गतको गेउरिया खोलाको पुल निर्माणमा ढिलाइ भएको हो । 

गेउरिया खोलाको पुल निर्माण २ वर्षमा सम्पन्न गर्ने गरी २०७१ साल कार्तिकमा सम्झौता भएको थियो । तर, अहिलेसम्म पुल सम्पन्न भएको छैन । हाल ७० प्रतिशत काम भएपछि निर्माण कम्पनीले बिना कारण काम रोकेको छ । समयमै पुल निर्माण नउद्या सवारी साधन आवतजावतमा समस्या हुने गरेको छ भने निर्माणधिन पुल दुर्घटनाको जोखिम बढेको छ । पछिल्लो पाँच महिना यता उक्त पुलमा सवारी दुर्घटनामा परि तीन जनाले अकालमै ज्यान गुमाएका छन् । 

दसैँमा रंगेलीमा लागेको मेला घुमेर आएका कानेपोखरी ४ का मनिष राजवंशीले निर्माणाधीन पुलमा मोटरसाइकल दुर्घटनामा परि ज्यान गुमाए । यस्तै कानेपोखरीकी गायत्री निरौलाले पनि सोही पुलमा दुर्घटना भएर ज्यान गुमाएको थियो । पुल निर्माण नहुँदा आइतबार विहान पुलमा रहेको खाल्डाखुल्डी बाटोका कारण दमकल पल्टिएको छ । यसअघि पनि दैनिक जसो साना सवारी साधन निर्माणाधीन पुलको खाल्डाखुल्डीमा परेर दुर्घटना हुने गरेको स्थानीय मनोज राजवंशीले जानकारी दिए । ‘समयमै पुल नबन्दा यस क्षेत्रमा दुर्घटना बढेर गएको छ,’ उनले भने, ‘हामीले ठेकेदारलाई बारम्बार भनिसक्यो । निर्माण चाँडै पुरा गरिदिनु भनेर । तर, यहाँका स्थानीयको माग सुनवाइ नै भएको छैन । पुल समयमै नबन्दा आफ्नो पनि ज्यानै जाने हाेकी भन्नेमा चिन्तामा छन् सवारी चालक स्थानीय ।’ 

पुल निर्माणको लागि भुटाहा सुनसरीको फ्युचर र सराउद्धिन निर्माण सेवाले संयुक्त रूपमा ठेक्का पाएका थिए । १ करोड १८ लाखमा पुल निर्माणको सम्झौता भएर ५७ लाख रुपैयाँ भुक्तानी पनि लगिसकेको सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय इटहरी अन्तर्गतको सडक डिभिजन कार्यालय विराटनगरले जनाएको छ । निर्माण कम्पनीका सञ्चालक सराजुद्धिन अन्सारीलाई पटक पटक ताकेता गर्दा पनि काम नभएको सडक डिभिजन कार्यालयको भनाइ छ । ‘विश्वास गर्नै गाह्रो भइसक्यो, दसैँ अगाडिदेखि नै काम गर्न भन्दा पनि दसैँपछि, तिहार पछि, छठ पछि, एक हप्ता पछि भन्दै ढाँट्दै आएको छ,’ सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख इन्जिनियर सुदर्शन कार्कीले भने, ‘हामीले आज मात्रै कार्यालयमा बोलाएर कारबाहीको चेतावनी दिएका छौँ, उहाँले आउँदो आइतबार, सोमबारदेखि काम गर्छु भन्नुभएको छ । 

यता, निर्माण कम्पनीका सञ्चालक अन्सारीले आफूले पुल निर्माणको लागि अढाई करोड खर्च गरिसकेको बताए । पुल ढिलो निर्माण हुनुमा बेस निर्माण गर्ने क्रममा अत्यधिक पानी रहेको कारण खर्च बढेको कारण प्रस्ट पारे । यद्यपि आफूले काम सम्पन्न गर्ने उनले बताए । ‘दुई चार दिनपछि म काम सुरु गर्छु,’ उनले भने, ‘अहिले बिरामी भएर हो ।’

समयमै काम नगर्ने ठेकेदारलाई कारबाहीको माग 

समयमै निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको छ । 

निर्माण कम्पनीलाई कारबाही गर्नुपर्ने माग गर्दै निवेदन दिनेहरूमा कानेपोखरीका राजेन्द्रकुमार मण्डल र अर्जुन आचार्य रहेका छन् । ‘२ वर्षभित्र सक्ने गरी सम्झौता भए पनि ७ वर्ष बितिसक्दा पुल निर्माण हुन सकेको छैन । पुल नहुँदा उक्त ठाउँमा सर्वसाधारण आवतजावतमा समस्या छ,’ जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनमा उल्लेख छ, ‘गत बुधबार राती आगो निभाउन हिँडेको दमकल खोला तर्ने क्रममा त्यहीँ पल्टिएको थियो । सो स्थानमा यस खालका सवारी साधन पल्टिने, दुर्घटना हुने क्रम लामो समयदेखि निरन्तर जारी छ । यसको सम्पूर्ण कारण भनेको पुल नहुनु नै हो ।’

पुल निर्माण गर्ने सम्झौता गरेर पुल निर्माण नगर्दा भइरहेको क्षतिको जिम्मेवारी निर्माण कम्पनीले लिनुपर्ने बताउँदै निवेदक मण्डलले पुल निर्माणमा लापरबाही गर्नेलाई कारबाही गर्नुपर्नेमा जोड दिए । ‘आवश्यक छानबिन गरी दोषी उपर कारबाही गर्न तथा छिटोभन्दा छिटो पुल निर्माणको लागि पहल गरिदिन हामीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हौँ,’ मण्डलले भने । 

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले निर्माण कम्पनीका सञ्चालक सराजुद्धिन अन्सारीलाई बोलाएर जवाफ माग गर्ने बताए । ‘हामीले जिल्ला प्रशासन कार्यालयमा यस विषयमा छलफल गरेका छौँ,’ तिम्सिनाले भने, ‘कानुन अनुसार सरकारले प्रक्रिया अगाडि बढाउँछ, त्यहाँ पुल नहुँदा समस्या छ, म पनि त्यस ठाउँबाट ओहोर दोहोर गरेको छु ।’ पुल निर्माण नहुँदा सर्वसाधारणलाई आवत जावत सहज बनाउन निर्माण कम्पनीलाई तुरुन्त निर्देशन दिइने पनि तिम्सिनाले बताए ।