सुनसरी । प्रहरी प्रशासनको निर्णयलाई अटेर गर्दै कोसी गाउँपालिका–८ स्थित कोसी ब्यारेजमा पूर्णिमा मेला आयोजना भएको छ । परापूर्व कालदेखि बर्सेनि लाग्दै आएको उक्त मेलामा भीडभाड हुने भन्दै सुनसरी प्रशासनले रोक लगाउने बताएको थियो तर, सोमबार भीडभाडसहित मेला आयोजना भएको हो ।

मेलामा सुनसरी, सप्तरी, मोरङ जिल्लालगायत भारतबाट आएका सयौंको भीड लागेको थियो । सरकारले कोरोना भाइरसको तेस्रो लहर रोकथाम तथा न्यूनीकरण गर्न माघ १५ गतेसम्म विद्यालयहरू बन्द गर्दै २५ जनाभन्दा बढी भेला हुन नपाउने सभा, सम्मेलन गर्न नपाउनेलगायतका निर्णय गरे पनि त्यस विपरीत कोसी ब्यारेजमा मेला आयोजना भएको हो ।

यसपटक स्वतःस्फूर्त रूपमा लागेको उक्त मेला आयोजना हुन नदिन स्थानीय प्रहरीले आइतबार रातिदेखि नै भीडभाड हुनबाट रोक्न प्रयास गरे पनि सोमबार दिउँसोबाट एक्कासि भीड बढेको थियो । नेपालसँग सीमा जोडिएको भारतमा  कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोन सङ्क्रमित दिन प्रतिदिन बढ्दै गए पनि सुनसरीको सीमाक्षेत्रमा भने त्यसलाई रोकथाम गर्न सतर्कता अपनाउन नसकिएको अवस्थामा कोसी ब्यारेजमा आयोजना भएको पूर्णिमा मेलाले थप जोखिम बढाएको छ ।

भारतबाट खुलेआम रूपमा आवत–जावत हुने भएका कारण मेलामा मास्क विना देखिएको भीडले जिल्लामा नयाँ भेरियण्टको सङ्क्रमित बढ्ने देखिएको छ । भारतमा दिनहुुँ लाखौं व्यक्ति सङ्क्रमित भेटिएको र खुला सीमा भएकाले उताबाट सङ्क्रमित व्यक्ति सुनसरीको नाका हुँदै नेपाल भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरेर सीमामा सतर्कता अपनाउनु पर्नेमा त्यसको विपरीत भव्य मेला आयोजना हुनु जोखिम बढाउने सङ्केत भएको स्थानीय अमरकुमार साहले बताए ।

जोखिम यथावत् रहेको बेला मेला आयोजना गर्नबाट रोक्न नसक्नु प्रहरी प्रशासनको कमजोरी भएको अर्का स्थानीय मुस्तफा अन्सारीले बताए । मेला आयोजना हुन नदिन प्रहरी प्रशासनले अनौपचारिक रूपमा प्रयास गरेको देखिए पनि उक्त प्रयास सार्थक नहुँदा कोरोना भाइरसको नयाँ भेरियण्टको सङ्क्रमित बढ्ने जोखिम बढाएको उनको गुनासो छ ।

भारतसँग सीमामा जोडिएका गाउँपालिकाका जनप्रतिनिधिहरूले कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोन रोकथाम गर्न प्रचार–प्रसार अभियानलाई तीव्रता दिइएको दाबी गरिरहेका बेला सीमा नाकामा भने कुनै प्रकारको  सतर्कता अपनाएको पाइँदैन ।

inaruwa-mela123

महोत्सव रोक्न प्रशासनको पत्राचार
यसैबीच पुस २३ गतेदेखि सञ्चालनमा रहेको तेस्रो बर्जु महोत्सव तत्काल रोक्न सुनसरी प्रशासनले निर्देशन दिएको छ । बर्जु गाउँपालिकास्थित चिमडीमा २३ गतेदेखि माघ ४ गतेसम्म जिल्ला प्रशासन कार्यालयबाट महोत्सव आयोजना गर्न आयोजकले अनुमति लिएकोमा उक्त महोत्सवमा भीडभाड बढेको पाइएपछि रोक्न आइतबार  पत्राचार गरिएको सुनसरी प्रशासनले जनाएको छ ।

कोरोनाजस्तो महामारी रोकथाम गर्न प्रहरी प्रशासनले चाहेर मात्र नसकिने भएकाले सर्वसाधारण आफै जागरुक बन्नुपर्नेमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जोड दिए । ‘प्रहरी प्रशासनले बल प्रयोग गरेर धार्मिक, सांस्कृतिक कार्यक्रम रोक्न सक्दैन’ उनले भने, ‘यसका लागि सर्वसाधारण जनता आफै पनि जागरुक बन्नुपर्छ ।’

मेला आयोजना हुन नदिन हरसम्भव प्रयास गरेको तर, एक्कासि बढेको भीडका कारण रोक्न नसकिएको प्रजिअ यादवले बताए । भारतमा कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोन भेटिएपछि जिल्लामा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार सतर्कता अपनाइए पनि सर्वसाधारणलाई थप सावधानी अपनाउन उनको आग्रह छ ।

inaruwa-mmm