सुनसरी । नेपालसँग सीमा जोडिएको भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियण्ट ‘ओमिक्रोन’ सङ्क्रमित बढे पनि सुनसरीको सीमा क्षेत्रमा भने त्यसलाई रोकथाम गर्न सतर्कता अपनाइएको छैन । भारतबाट खुलेआम आवत–जावत हुने भएका कारण जिल्लामा नयाँ भेरियण्टबाट सङ्क्रमित फैलिने जोखिम उच्च रहेको छ ।

भारतमा सङ्क्रमित भेटिएको र खुला सीमा भएकाले उताबाट सङ्क्रमित व्यक्ति सुनसरीको नाका हुँदै नेपाल भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरेर सीमामा सतर्कता अपनाउनुपर्ने आवश्यकता रहेको स्थानीय बताउँछन् । दिनहुँ हजारौंको सङ्ख्यामा सर्वसाधारण ओहोर–दोहोर गर्ने सुनसरीका भण्टाबारीलगायतका नाकाबाट  सङ्क्रमण भित्रिन नदिन सीमाक्षेत्रमा जनचेतनामूलक कार्यक्रम र हेल्प डेस्क स्थापना गर्न आवश्यक देखिएको स्थानीय साकिर आलमले बताए ।

कोरोना भाइरसको नयाँ भेरियण्ट ‘ओमिक्रोन’ सङ्क्रमित जिल्लामा हालसम्म न भेटिए पनि ढुक्क भएर बस्न नहुने बताउँदै उनले रोग लागेर उपचार गरिनुभन्दा रोग लाग्न नदिनका लागि अग्रिम सतर्कता अपनाउन सबैमा आग्रह गरे ।

सुनसरीका कोसी, हरिनगर, देवानगञ्ज, बर्जु, भोक्राहा नरसिंहलगायतका गाउँपालिकाको सीमा भारतसँग जोडिएको छ । यीमध्ये भण्टाबारी नाकाबाट मात्रै सवारीसाधन आधिकारिक रूपमा आवत–जावतको अनुमति दिइएको छ भने अन्य नाकाबाट मोटरसाइकल, साइकल र पैदलमार्गबाट ओहोर–दोहोर हुने गरेको पाइन्छ ।

भारतसँग सीमा जोडिएका गाउँपालिकाका जनप्रतिनिधिहरूले कोरोना भाइरसको नयाँ भेरियण्ट ‘ओमिक्रोन’ रोकथाम गर्न प्रचार–प्रसार अभियानलाई तीव्रता दिइएको बताएका छन् । हरिनगर गाउँपालिकाका अध्यक्ष गफार मियाँ अन्सारीले ‘ओमिक्रोन’ रोकथाम गर्न सीमामा तैनाथ सशस्त्र प्रहरी, नेपाल प्रहरी र जिल्ला प्रशासनसँग समन्वय गरेर प्रचार–प्रसार अभियानलाई तीव्रता दिइएको बताए ।

यसैगरी देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले जनस्तरमा नयाँ भाइरसको बारेमा जानकारीमूलक कार्यक्रम गरिरहेको बताए । त्यसैगरी कोसी गाउँपालिकाका प्रमुख ऐयुब अन्सारीले जिल्ला प्रशासन र सुरक्षा निकायसँग मिलेर सीमामा हेल्प डेस्क स्थापना गर्ने तयारी गरिएको बताए ।

आवश्यक साधनस्रोत उपलब्ध नहुँदा चेकजाँच गरेर सङ्क्रमित पत्ता लगाउन तत्काल सम्भव नदेखिएकाले जिल्ला प्रशासनसँग सहकार्य गरेर आवश्यक साधन, स्रोत र सीमामा स्वास्थ्यकर्मी खटाउने तयारी गरेको उनको भनाइ छ । सीमामा जनचेतनामूलक कार्यक्रम गर्दै प्रशासन कार्यालय, सीमामा तैनाथ सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको संयुक्त सहकार्यमा हेल्पडेस्क राखेर त्यस्ता सङ्क्रमित पत्ता लगाउने तयारी गरेको अध्यक्ष अन्सारीले जानकारी दिए ।

छिमेकी देश भारतमा कोरोना भाइरसको नयाँ भेरियण्ट ‘ओमिक्रोन’ सङ्क्रमित पहिचान भएपछि सीमानाकामा सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । भारतमा कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोन भेटिएकाले पुनः जिल्लामा कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार सतर्कता अपनाउने तयारी अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

नयाँ भेरियण्ट न्यूनीकरण तथा रोकथाम गर्न जिल्लाका स्थानीय तहहरूसँग सहकार्य गरेर नयाँ भाइरसबारे प्रचार–प्रसारसँगै खोप लगाउने कार्यलाई तीव्रता दिइने योजना रहेको उनले बताए । नयाँ भाइरस पत्ता लगाउने साधनस्रोत उपलब्ध नभए पनि लक्षण देखिएमा त्यसबाट तत्कालै सचेत हुन प्रजिअ यादवको सुझाव छ ।

सीमामा तैनाथ सुरक्षाकर्मी आफैले कोरोना भाइरससम्बन्धी सन्देशमूलक पर्चा वितरण गर्दै सुनसरी जिल्लाका विभिन्न नाकाबाट आवत–जावत गर्ने सर्वसाधारणलाई सतर्क रहन आग्रह गर्दै आएका छन् । यद्यपि भारतबाट नयाँ भाइरस भित्रिन नदिन सीमामा प्रहरीले सर्वसाधारणलाई सतर्क गराए पनि हेल्पडेस्क तत्काल स्थापना गरिएको पाइएको छैन ।