धरान । खानेपानीको मुख्य स्रोतबाट आउने पाइपलाइनमा लिकेज भएपछि बिहीबारदेखि मर्मत सुरु गरेको छ ।
धरानमा केही समययता खानेपानी व्यवस्थापन बोर्डले खानेपानी वितरण गर्दै आएको छ । बोर्डले चारकोसे जङ्गल क्षेत्रबाट खानेपानीको पाइपलाइन विस्तार गरेको छ । पाइपलाइन लिकेज भएका कारण खानेपानी वितरणमा समस्या हुँदै आएको थियो ।
१ नम्बर वेलको ट्रङ्क लाइनको स्लुइस भल्भ बिग्रिएर पानी चुहिने समस्या भएपछि उक्त क्षेत्रमा नयाँ भल्भ राख्नका लागि काम थालिएको बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले जानकारी दिए ।
एक नम्बर वेल साविक खानेपानी संस्थानको वेल हो । यसबाट आउने पाइपलाइन लिकेज भएको हो । निर्देशक पोखरेलका अनुसार वेल्डिङ गरी लिकेज बन्द गर्ने कार्य सुरु गरिएको बताए ।
लिकेज भएको क्षेत्रमा नगर प्रमुख तिलक राईले स्थलगत अनुगमन गरेका थिए । बोर्डका अध्यक्षसमेत रहेका प्रमुख राईले मर्मत कार्य चाँडै सक्न निर्देशन दिए ।
त्यस्तै ८ नम्बर वेल हाउसमा जडान गरेको एक महिना नबित्दै मोटर जलेका कारण समस्या भएको बोर्डका इन्जिनियर प्रशान्त अधिकारीले जानकारी दिए । उक्त क्षेत्रमा नयाँ मोटर जडानको काम गर्न थालेको बताए ।