bibek-bibas-regmi

चिसो समय, मधुरो घाम लागिरहेको छ । पुरानो जस्तो देखिने कार नजिकैबाट ट्याङ–ट्याङ आवाज आइरहेको थियो । एक वृद्ध मानिस कारलाई वरिपरिबाट नियाल्दै बनाइरहेका थिए । यो दृश्य हो, इटहरीमा रहेको एक गाडी ग्यारेजको ।

धरान–११ घर भएका रोशनबहादुर सुनुवार उमेरले ५६ वर्ष पुगे । झट्ट हेर्दा वृद्ध उमेरको देखिने उनीमा काम गर्ने जोस भने २२ वर्षीय युवाको जस्तै छ । पुराना, बिग्रिएका तथा दुर्घटनामा परेका गाडीहरू, विशेषगरी कार बनाउन थालेको ३३ वर्ष बितेछ । ‘०४२ सालदेखि गाडी बनाउने काम सिकेँ, ४५ सालदेखि पूर्णरूपमा काम गर्नसक्ने भएपछि पहिलो तलब नै काम सिक्न सुरु गरेको तीन वर्षपछि पाएँ,’ उनले आफ्नो विगत स्मरण गरे, ‘गोठालामा एकजना साथीले काम सिक्नुपर्छ भनेर हामी पोखरा गयौँ, त्यहीँ गएर काम सिकेको हुँ ।’
तीन वर्ष काम सिकेपछि पहिलो तलब आठ सय रुपैयाँ पाएको उनले स्मरण गरे । आफू २० वर्षको उमेरमै घर छाडेर पोखरामा काम सिकेपछि काठमाडौँलगायतका ठाउँमा पनि गएर काम गरेको उनले बताए ।

एकदिनको समय हो, गोठालो जाँदा दसैं बिदामा आएको साथी पुष्प मगरले काम सिक्नका लागि पोखरा जाने प्रस्ताव गरे । गाउँघरमा पढाइ पनि नहुने । पढ्नका लागि चक्रघट्टीदेखि तीन घण्टा लामो समय हिँडेर विद्यालय जानुपर्ने बाध्यता थियो । अझ बर्खाको समयमा कोसी तरेर जान नसकिने भएकाले तीन कक्षा पढ्दैदेखि उनले विद्यालय जान सकेनन् । पढाइ नभएपछि सुनुवार उनै साथी पुष्पसँगै पोखरा जाने निर्णयमा पुगे । गोठालो जाँदाको निर्णयले उनको जिन्दगीले नयाँ मोड लियो ।

‘पुष्पले नै पोखरा लगेर काम खोजेर राम्रो काम देखाइदिएकोमा उसलाई मेरो साथी भन्न पाएकोमा गर्व गर्छु’ उनले बाल्यकालदेखिको साथीलाई सम्झँदा केहीबेर भावुक हुँदै विगत स्मरण गरे, ‘खेतीमा दुःख हुन्थ्यो, खेतीभन्दा यही काम मलाई धेरै ठीक छ, खुसी छु, यसैमा सुख छ ।’

उनी ध्रुव मगरलाई आफ्नो गुरु मान्छन् । अहिले गाडीको सबै पार्टपुर्जा कहाँ प्रयोग हुन्छ भन्ने सबै ज्ञान दिलाउन ध्रुवको योगदान रहेको उनले बताए । अहिले उनकै कारण आफूलाई कम्पनीले पत्याएर सहज रूपमा जीवन निर्वाह गरिरहेको सुनुवारले बताए ।

धरानमा आफ्नै ग्यारेज सञ्चालन गरे पनि उनी बीचको समयमा केही वर्ष कतार गए । कतारमा गाडी बनाउनकै लागि गएका उनले त्यहाँको राम्रो व्यवहार नहुँदा आफू केही वर्षको अन्तरालमा स्वदेश नै फर्किएर काम गर्न थालेको उनी बताउँछन् । ‘विदेशमा त खटाइ धेरै पर्छ, पेलान भएको कारण नेपालीलाई तल्लो स्तरले हेर्दा रहेछन्’ उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘मिस्त्री भएर गए पनि उनीहरूको लागि हामी हेल्पर नै भइँदो रहेछ, त्यहाँ त हेड मिस्त्री भए पनि हेल्परकै रूपमा व्यवहार गरिँदा अलिक नमज्जा हुँदो रहेछ ।’

उनी विगत चार वर्षदेखि सुजुकी शोरुम इटहरीकै ग्यारेजमा धरानबाट धाइरहेका छन् । बिहानै बसमा आउँछन्, दिनभर काम गर्छन् र साँझ बसमै धरान घर फर्कन्छन् । उनी महिनामा कहिलेकाहीँ पाँचवटासम्म गाडी बनाउँछन् । दुई छोरी, एक छोरा र एक श्रीमतीलाई आफूले खुसीसाथ राखेको सम्झँदा थोरै मुस्कुराए ।

aalekh-gyarej

खुसीमिश्रित अनुहारमा भने, ‘ठूली छोरीले त नर्स पनि पास गर्यो, अहिले ल्यावमा काम गरिरहेकी छे ।’ सुनुवारसँगको बसाइमा उनी बेलाबेला मुस्कुराउँथे । घरीघरी निकैबेर बोल्दैनथे पनि । केहीबेरको मौनतापछि उनी फेरि आफ्नो कामबारे स्मरण गर्न अगाडि तम्सिहाल्थे ।

अहिले आफूले मासिक चालीस हजार रुपैयाँसम्म कमाइ गर्ने गरेको उनी बताउँछन् । गाडी छिट्टै बनेमा वा कोही खुसी भएमा पाँच सयदेखि एक हजार रुपैयाँसम्म खल्तीमा लगाइदिँदा आफूलाई प्रोत्साहन हुने उनी सुनाउँछन् । ‘काम गरेर कहिल्यै सकिँदैन, कसैले खुसी भएर पाँच सय, हजार पनि दिइहाल्छन्’–उनले भने । अब त बसेर खाने उमेर भयो नि भन्ने प्रश्नमा उनले भने, ‘हातखुट्टा अहिलेसम्म चलिराखेको छ, कमाउनुप¥यो, हिँड्नुप¥यो, काम त गर्नुपर्यो नि, सकुञ्जेल काम गर्नुपर्छ ।’ 

आफूले ३३ वर्ष एउटै क्षेत्रमा काम गरेको भए पनि अझै सिकाइको अध्याय नसकिएको उनी बताउँछन् । ‘काम जति गरिरह्यो, उति गरिरहुँ जस्तो लाग्छ, काम गर्दै जाँदा हरेक दिन नयाँ कुरा जानिन्छ, जति ग¥यो उति सिकिने रहेछ,’ उनले सुनाए, ‘अलिक सानो उमेरबाटै जुनसुकै काम सिक्न खोज्यो भने सिकिनेरहेछ, अहिले नट बल्टु चलाउन जान्यो भने सबै मान्छे मिस्त्री भइहालेँ भन्ने बुझ्न थाल्छन् ।’

उनले अहिलेका नयाँपुस्ता कामप्रति जिम्मेवार नरहेको बताए । उनले भने, ‘त्यसबेला हामीले उस्तै ठाउँमा उल्टै पैसा दिएर काम गर्नुपथ्र्यो, अहिले त काम जानेको हुँदैन कति पैसा दिने भनेर आउँछन् ।’ उनले अहिलेका युवाहरूले कामको अनुभव नै नगरी पैसा मात्रै हेर्ने गरेको स्मरण गरे । निरन्तर पौरख, अदम्य साहस र दैनिकी उही कामका कारण कालान्तरमा सुनुवारको जीवनले सकारात्मक मोड लियो ।

२०७८ पौष २३ गते ब्लाष्ट टाइम्स दैनिकमा प्रकाशित ग्यारेजमा बाँचेको एउटा जिन्दगी शिर्षकको लेखमा लेखक विवेक विवश रेग्मीको तस्बिर हुनु पर्नेमा भुलवस अर्को तस्बिर पर्न गएकोमा क्षमा प्रार्थी छौं ।