धनकुटा/ विगतमा लामो समयसम्म अन्तर स्थानीय तहमा सञ्चालनमा रहेको कार्यक्रम धनकुटा नगरपालिकाले म्याङ्गलुङ नगरपालिका तेह्रथुमलाई मंगलबार हस्तान्तरण गरेको छ ।
वाईस वर्ष अघिदेखि सञ्चालनमा आएर वन्द रहेको संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमको सहयोगमा धनकुटा नगरपालिकामा सञ्चालित गाउँ नगर साझेदारी विकास स्वामित्वमा रहेको कार्यक्रम म्याङ्गलुङ नगरपालिकालाई हस्तान्तरण गरिएको हो । तत्कालिन समयमा ग्रामिण बजार केन्द्र तेह्रथुममा धनकुटा नगरपालिकाले विस्तार गरी कार्यान्वयन गर्न वि.सं. २०५६ पौष ३० गते म्याङ्गलुङ गाउँ विकास समिति र धनकुटा नगरपालिका विच द्धिपक्षिय सम्झौता भै विभिन्न कार्यक्रमहरु संचालन भएका थिए ।
दुई वटा स्थानिय तह बीच द्धिपक्षिय सम्झौता भई कायृक्रमको विभिन्न गतिविधिहरुसंचालन भएको र संयुक्त राष्ट्र संघिय विकास कार्यक्रमबाट भईरहेको सहयोग अन्त भएपछि रोकिएको थियो । लामो समय देखी द्धिपक्षिय सम्झौता नविकरण हुन नसकि कार्यक्रमको गतिविधि सुन्य रहेको थियो ।
म्याङ्गलुङ ग्रामिण वजार केन्द्रको नाममा धनकुटा नगरपालिका साझेदारी विकास समितिको स्वमित्वमा रहेको कार्यक्रमको श्रोत साधन धनकुटा नगरपालिकाले म्याङ्गलुङ्ग नगरपालिकालाई हस्तान्तरण गरिएको गाउँ नगर साझेदारी कार्यक्रम धनकुाटका प्रवन्धक नुषराज श्रेष्ठले बताए । दुवै स्थानिय तहका अख्तियारवाला पदाधिकारीहरुले सहमती र समझ्दारीमा हस्ताक्षर गरेका छन् ।
सो अवसरमा धनकुटा नगरपालिका कार्यालयले साझेदारी विकास समितिको नाममा नेपाल वैंक तेह्रथुम शाखामा तिन वटा खातामा रहेको ७ लाख, ५४ हजार, ८ सय ५१ रुपैयाँ नगद म्याङ्गलुङ नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
सो अवसरमा टोल विकास संस्था सम्बन्धि सामान्य फायल १४ थान, विभिन्न उद्यमी समुहहरुको फायल २९ थानको स्वामित्व म्याङ्गलुङ नगरपालिकालाई हस्तान्तरण गरिएको प्रवन्धक श्रेष्ठले बताएका छन् ।
प्रदान गरिएको श्रोत साधन म्याङ्गलुङ नगरपालिकाले टोल विकास संस्थाहरुको सशक्तिकरण, उद्यमशिलता विकास, क्षमता विकास तथा दीगो आर्थिक विकासको क्षेत्रमा परिचालन गर्नु पर्नेछ ।
साथै, वैंक मौजाद वाहेक लगानीमा रहेको ४ लाख, ५३ हजार, अशुल उपर गर्ने, परिचालन गर्ने जिम्मेवारी पनि म्याङ्गलुङ नगरपालिकालाई दिइएको छ । हस्तान्तरित स्रोत साधनहरुको सहि सदुपयोग तथा उत्तरदायित्वको जिम्मा पनि म्याङलुङ नगरपालिकालाई सम्झौता पत्रमा भनिएको छ ।
सम्झौता पत्रमा धनकुटा नगरपालिकाको तर्फबाट प्रमुख चिन्तन तामाङ, प्रमुख प्रशासकिय अधिकृत रामवहादुर थापा र म्याङलुङ नगरपालिकाको तर्फबाट नगर प्रमुख सञ्जय कुमार तुम्वहाम्फे र प्रमुख प्रशासकिय अधिकृत गिरिराज भट्टराईले हस्ताक्षर गरेका छन् ।
नेपालको संविधान र स्थानिय सरकार संचालन ऐन २०७४ ले पनि अन्तर स्थानिय तह सहकार्य र समन्वय गर्नु पर्ने व्यवस्थालाई समेत यो हस्तान्तरण कार्यक्रमले सहयोग पुगेको छ । अन्तर स्थानिय तह सहकार्य र समन्वय गर्नु पर्छ भन्ने पनि कार्यक्रमले शन्देश दिएको धनकुटा नगरपालिका कार्यालयका तत्कालिन गाउँ नगर साझेदारी कार्यक्रमका प्रवन्धक एवं हाल स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख नुषराज श्रेष्ठले बताए ।