सङ्खुवासभा । सदरमुकाम खाँदबारी र भोजपुरको षडानन्द नगरपालिकालाई जोड्ने लम्सुवाघाट अरुण नदीमा निर्माणाधीन पक्की पुल अलपत्र बनेको १२ वर्ष पुग्नै लागेछ ।

२०७२ असोजमा निर्माण सम्पन्न हुनुपर्ने एक सय ६७ मिटर लामो यो पुलमा ६ वटा पिलर मात्रै उठाउने काम भएको छ । सडक विभागको बेवास्ता र ठेकेदारको लापरबाहीका कारण पुल बिचमै काम छाडेर ठेकेदार हिँडेपछि पुल बेवारिसे जस्तै बनेको हो । २०६७ सालमा सम्झौता भएको पुल यत्ति बेलासम्म नबन्दा भोजपुरका अधिकांश नागरिकले समस्या झेल्दै आएको छ ।

बिरामी हुँदा नजिकको सहर  तुम्लिङटार वा खाँदबारी जान बोकेर लैजानु पर्ने बाध्यता 

बिरामी हुँदा त नजिकको सहर सङ्खुवासभाको तुम्लिङटार वा खाँदबारी सहर जान बोकेर लैजानु पर्ने बाध्यता रहेको स्थानीय धन बहादुर कुमाल बताउँछन् । अरुण पारिको छोटो दुरीको तुम्लिङटार नै आफूहरूको लागि परदेश बनेको उनीहरूको भनाई छ । ११ वर्ष अगाडी सुरु भएको पुलले केही आशा पलाएको थियो तर अहिले निराश बनेका नागरिकहरू नेताहरूले नै वास्ता नगरेपछि अलपत्र भएको बताउँदै आएका छन् । 

पुलको हालसम्म २० प्रतिशत मात्र काम सम्पन्न भएको छ । समयमै पुलको काम नसकिँदा स्थानीय काठको ढुङ्गा र गत वर्षदेखि सतिघाटमा सञ्चालित फेरीबाट सामान ओसार पसर र आवतजावत गरिरहेका छन् ।

लम्सुवाघाट नजिकैको सतिघाटमा बनेको फेरीले केही सहज बनाए पनि पक्की पुल बनेको भए धेरै राम्रो हुने स्थानीय रेख बहादुर आले मगरको भनाई छ । स्वास्थ्य, शिक्षा, बजार लगायतका समस्या झेली रहेको भोजपुरका अधिकांश नागरिक नेताहरूको आश्वासनलाई विश्वास नै गर्न छोडेका छन् ।

 प्रत्येक पटकको निर्वाचनमा चुनावी नारा बन्ने यो पुल अझै बनेको छैन । पुल नभएपछि हिउँदमा काठको डुङ्गा चलाई रहेको नर बहादुर कुमाल छोराछोरीलाई हिउँदमा नै भएपछि विद्यालय जान सहज होस भनेर ढुङ्गा चलाई रहेको बताउँछन् ।

Lamsuwapul

हिउँदको करिब ६ महिना डुङ्गाबाट आवतजावत गर्न सकिए पनि बाँकी समय भने ३० मिनेटको गन्तव्य पुग्न ३ घण्टाभन्दा धेरै समय हिँड्नु पर्ने बाध्यता छ । तुम्लिङटारका खड्ग दमाईको लम्सुवाघाट पारी खेती छ । त्यहाँ जान र आउन उनलाई दैनिक हिउँदमा ५० रुपैयाँको ढुङ्गा चढ्नु पर्छ भने बर्ख याममा ३ घण्टा हिँड्नुपर्छ । उनी भन्छन्स् यदि पुल भएको भए समय र पैसा पनि बच्ने थियो । 

ठेकेदार कम्पनीले सम्झौता ताका अघि पुलको जमिन मुनिको पिलर विल निर्माण गर्ने क्रममा १२ मिटरमै  चट्टान भेटिएको कारण देखाउँदै काम गर्न छाडेको स्थानीय प्रशासनले जनाएको छ । सडक डिभिजन कार्यालयले पनि पुल निर्माण गर्ने तर्फ चासो नदिएको स्थानीयको भनाई छ ।

नगरपालिका र षडानन्द नगरपालिकामा पटक पटक स्थानीयले यो विषयमा कुरा उठाएको र २ वर्ष अघि षडानन्द नगरपालिकाका मेयर बिरबल राईले पनि पहल गर्ने बताएका थिए तर ११ वर्ष बित्दा पनि यो हुन सकेन ।

यता नवनियुक्त प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले बल तत्काल पुल बन्ने बताएर केही दिन अघि फर्किएका छन् । मुख्यमन्त्री राईको गाउँसँगै जोडिएको लम्सुवाघाटको अलपत्र पुललाई निर्माण सम्पन्न पुरा गर्ने बाचा गरेका छन् । मुख्यमन्त्री राई सोही लम्सुवाघाट हुँदै आफ्नो गृह घर झ्याउ पोखरी जाने गर्छन् ।

गएको तिहारमा घर आएका राईले स्थानीयको बधाई लिँदै विशेष प्राथमिकतामा यो पुल रहेको बताएका छन् । झ्याउँपोखरी, दिङ्ला बजार लगायतका स्थानमा आयोजित सार्वजनिक कार्यक्रमहरूमा उनले यस्तो बताएका हुन् । 

भोजपुरका उत्तरी क्षेत्रका बासिन्दाको किनमेल गर्ने बजार खाँदबारी नै हो । खाँदबारीबाट होलसेलमा बिक्री गर्न लगिएको दैनिक उपभोग्य सामाग्री समय खर्चेर डुङ्गा र फेरीबाट तार्दा महँगो पर्ने र आवतजावतमा समेत समस्या पर्ने गरेको छ ।

२०६४ पछि बनेको हरेक सरकारमा भोजपुरका नेताहरूले विकासे मन्त्रालय सम्हालेका छन् । तर पनि यो पुल जस्तै अन्य विकासे गतिविधिहरूले कम भएको गुनासो स्थानीय नागरीहरूले गर्दै आएका छन् ।