संयुक्त राष्ट्रसंघले इथियोपियाको टिग्रेमा मानवीय सहायताका लागि लगिएका कम्तीमा पनि ७० ओटा ट्रक इथियोपियाको सरकारी सुरक्षा निकायहरुले नै नियन्त्रणमा लिएका जनाएको छ । ती ट्रकहरुमा पछिल्लो समयमा निकै समस्यामा परेका टिग्रेका नागरिकहरुका लागि आवश्यक खाद्यान्न र औषधि सहयोगस्वरुप त्यहाँ पठाइएको थियो । 

तर त्यहाँको सरकारले नै ती सहायता सामग्रीहरु नियन्त्रणमा लिएको र तिनको पछिल्लो अवस्था के कस्तो छ भन्ने बारेमा केही पनि थाहा हुन नसकेको बताएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले बुधबार एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी दिएका हुन् । 

उनले ती ट्रकहरुको अवस्था के छ र कहाँ राखिएको तथा सवारी चालकहरुको पनि अवस्था के छ भन्ने बारेमा पनि इथियोपियन सरकारले केही नबताएको जानकारी दिए । 

उनीहरुको खोजी कार्य जारी रहेको र त्यसका लागि संयुक्त राष्ट्रसंघले यहाँको सरकारलाई आग्रह गरेको पनि उनले बताएका छन् । इथियोपियाको सो टिग्रे क्षेत्रमा पछिल्लो समयमा हिसा जारी रहेको छ । जसका कारण लाखौँ मानिस खाद्यान्न लगायतको मानवीय सहायताको अभाव रहेको छ ।  त्यसैले सो क्षेत्रमा संयुक्त राष्ट्रसंघले सहयता पठाएको थियो ।