ओखलढुङ्गा र सुनसरीमा विभिन्न स्थानमा फरक–फरक घटनाबाट ४ जनाको मृत्यु भएको छ । 

ओखलढुङ्गा मोलुङ गाउँपालिका ७  पात्ले खानिचौर २२ वर्षीय  निमा शेर्पाको रुखबाट लडेर मृत्यु भएको छ ।

आइतबार बिहान ११ बजे  घर बाट ५ सय मिटर पश्चिममा रहेको खस्रेकाे रूख घाँस काट्न चढेका  शेर्पा रुखबाट लडी  घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बरुणेश्वरले जनाएको छ । घटनाको सूचना पाएसँगै घटना स्थल पुगेको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएको छ ।

त्यस्तै, सुनसरीमा इटहरी उपमहानगरपालिका   ४  बस्ने बलिन्द्र अधिकारीको ४ वर्षीय छोरा दर्पण अधिकारीको पोखरीमा डुबी मृत्यु भएको छ । आइतबार बेलुका ६ बजे घर नजिकै रहेको पोखरीमा डुबी घाइते भएका दर्पणको वीपी प्रतिष्ठान  धरानमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको हो ।  १ नम्बर  प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । 

त्यसै गरी, सुनसरी कोशी गाउँपालिका ८ भण्टाबारी चोक स्थित पूर्व–पश्चिम राजमार्गमा हिजो बिहान १० बजे बसको ठक्करबाट घाइते भएका दुवै जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही स्थानका ३० वर्षीय अल्ताप मिया र पछाडि सवार ३० वर्षीय गियासुदिन मिया रहेको उक्त कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार उनीहरूको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो साढे ११ बजे मृत्यु भएको थियो । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्र.१–०१–००१ ख ३५३० नम्बरको बसले विपरीत दिसा तर्फबाट आउँदै गरेको  प्र.२–०१०–०१प ०७६३ मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएको थियो ।

बस र बस चालक झापा कनकाई नगरपालिका ३ सुरुङ्गा का ५५ वर्षीय पुष्प अधिकारी जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ ।