इनरुवा । हिरासतभित्र थुनुवाको मृत्युको विषयले उग्र रूप लिएपछि आइतबार दिनभरजसो इनरुवा बजार तनावग्रस्त बन्यो ।
अभद्र व्यवहार मुद्दामा थुनामा रहेका भोक्राहा–५ का मोहम्मद हाकिम साहको मृत्युको खबर फैलिएसँगै आक्रोसित भीड र प्रहरीबीच बिहानैबाट पटक– पटक झडप भएको छ । जिल्ला प्रहरी कार्यालयअगाडि भीड बढ्न थालेसँगै उनीहरू सामूहिक प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनले उग्ररूप लिएपछि अवस्था नियन्त्रणबाहिर जाँदा पटक–पटक दोहोरो झडपको अवस्था सिर्जना हुन पुगेको थियो ।
गाउँ–गाउँबाट बालबालिका र महिलासहित इनरुवामा जम्मा भएको भीड प्रहरीमाथि जाइलागेपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी अश्रुग्यास प्रहार गरेको छ । सो क्रममा दोहोरो झडपमा परी प्रहरी र प्रदर्शनकारी गरी दुई दर्जन बढी घाइते भएका छन् । आक्रोसित भीडले टायर बालेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पार्नुका साथै इनरुवा बजार बन्द गराएको थियो । सो क्रममा केही प्रहरीमाथि साङ्घातिक आक्रमणको प्रयास भएको थियो ।
प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गा लागेर जिप्रका सुनसरीको भवनका झ्यालका सिसा फुट्नुका साथै अन्य संरचनामा समेत क्षति पुगेको छ । प्रदर्शनकारीले प्रहरीको सबै ब्यारिकेट जलाएका छन् । ढुङ्गामुढा गर्दै अघि बढेको प्रदर्शनकारीको समूह कार्यालयको मूल गेट तोडेर अघि बढ्न थालेपछि झडपले थप उग्ररूप लिएको थियो ।
दङ्गा प्रहरी, सशस्त्र प्रहरीसमेतको बाक्लो तैनाथीमा प्रदर्शनकारीलाई प्रहरीले लखेटेको थियो । सो क्रममा दोहोरो ढुङ्गा हानाहानको अवस्था सिर्जना भएको थियो । जसका कारण दिनभरजसो इनरुवा बजारक्षेत्र तनावग्रस्त बन्न पुगेको थियो ।
घटनाको विषयलाई लिएर मृतकका आफन्तले शङ्का व्यक्त गरेका छन् । उनीहरूले अभद्र व्यवहार मुद्दामा थुनामा रहेको व्यक्ति मृत भेटिनु शङ्कास्पद भएको बताए । मृतकका पिता फुलमोहमदले प्रहरीको मिलेमतोमा छोराको हत्या भएको बताए । उनले घटनाको निष्पक्ष छानबिनको माग गरे ।
मृतकका बाबुका अनुसार छोरालाई प्रहरीले दुव्र्यवहार मुद्दामा थुनामा राख्नुको कारण केटाकेटीको प्रेमको विषय भएको बताए । उनका अनुसार छोरा रजाक र इनरुवा–९ बबियाकी खत्वे थरकी युवतीबीच प्रेमसम्बन्ध रहेको थियो ।
भागेर केही महिना बिताएका उनीहरूलाई केटी पक्षले प्रहरी लगाएर पक्राउ गरेको थियो । पक्राउपश्चात् केटालाई अभद्र व्यवहार मुद्दामा थुनामा राखिएको थियो । केटीलाई भने अभिभावकले जिम्मा लिएर लगेका थिए ।
उता सुनसरी प्रहरी प्रमुख सञ्जयसिंह थापाले सीसीटीभी फुटेजमा स्पष्ट आत्महत्या गरेको देखिएकाले घटनालाई अतिरञ्जित गर्न नहुने बताए । उनले घटनाको निष्पक्ष छानबिनका लागि प्रहरी तयार रहेको बताए ।
कार्यालयबाहिर दोहोरो झडप भइरहँदा कार्यालय परिसरभित्र भने पीडित पक्षसँग छलफल भइरहेको थियो । छलफलले सहमति जुटाएपछि आफन्तले शव बुझेका छन् ।
छलफलका क्रममा घटनाको सूक्ष्म रूपले अनुसन्धान गरी दोषी पाइए कारबाही गर्ने, क्षतिपूर्तिको पहल थाल्ने विषयमा सहमति जुटेको छ । जिल्ला प्रहरी प्रमुख सञ्जयसिंह थापाले सहमतिपश्चात् अवस्था सामान्य बनेको बताए । उनले घटनाको निष्पक्ष छानबिन हुने बताए । छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलसहित कोसी र हरिनगरका अध्यक्ष ऐयुब अन्सारी, गफार अन्सारीलगायतको उपस्थिति रहेको थियो ।
यता आफन्तले मृतकको शव बुझेर पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाए पनि आक्रोसित भीड भने मत्थर नबन्दा बबिया क्षेत्रमा झडप भएको छ ।
आक्रोसित भीडले बबियामा रहेको युवतीको घरमा आगजनी गरेका छन् । सो क्रममा गोदाम र घरमा क्षति पुगेको छ । पक्ष विपक्षमा उभिएको दुई समूहले एक–अर्कामाथि गाउँमै आक्रमण थालेपछि ठूलो सङ्ख्यामा प्रहरीबल त्यस क्षेत्रमा परिचालन गरिएको छ ।