विजयपुर। अप्ठ्यारो बाटो, कतै घुम्ती, कतै खाल्डाखुल्डी । पहाडी क्षेत्रमा गाडी चलाउनेहरूलाई तनावै तनाव हुन्छ । पहाडी क्षेत्रका चालकहरूको अर्को तनाव हो, ट्राफिक प्रहरीले दिने दुःख ।
पहाडी क्षेत्रमा चल्ने गाडी चढ्ने यात्रुहरू प्रायः टाढाबाट आएका वा किनमेल गरेर फर्किएका हुन्छन् । उनीहरूका सामान पनि गाडीमा चढाउनै प¥यो । नचढाए यात्रुले तनाव दिन्छन्, चढाए ट्राफिकले दुःख दिन्छन् ।चालकहरूको साझा अनुभव यही हो ।
उनीहरूको भनाइमा ट्राफिकलाई पैसा बुझाए गाडीको छतमा सामान राख्न पाइन्छ, नबुझाए पाइँदैन । धरानबाट कोसी राजमार्ग हुँदै पहाड जाने गाडीहरूलाई जिरो पोइण्टदेखि ट्राफिकहरूले दुःख दिने गरेको चालकहरू बताउँछन् ।
धरानबाट भोजपुर, तेह्रथुम, चैनपुर, खाँदबारीलगायत स्थानमा लामो समयदेखि बस चलाउँदै आएका चालक छविलाल मगरले छतमा सामान राखेपछि रकम बुझाए गाडी जान दिने नभए सामान झार्न लगाउने गरेको बताए । उनले हाल धरानदेखि पहाडी क्षेत्रतिर को.१ ख ७१६५ नम्बरको पाथीभरा छथरे वाइबा ट्राभल्सको बस चलाउँदै आएका छन् ।
त्यस्तै अनुभव को.१ ख ३७४४ नम्बरको पाथीभरा दर्शन बसका चालक पदम सापकोटाको पनि छ । उनले चालकलाई ट्राफिकले अनावश्यक दुःख दिने गरेको बताए ।
‘छतमा सामान राख्दा दुर्घटनाको जोखिम हुन्छ भन्दै दुःख दिन्छन् तर, ट्राफिकलाई ५ सय रुपैयाँ दिएपछि सामान हाल्न दिन्छन्’ उनी भन्छन्, ‘सामान राख्दा दुर्घटना हुन्छ भने राख्नै दिनु भएन, हामी यात्रुलाई त्यसै भन्छौँ, तर, पैसा दिए दुर्घटनाको जोखिम नहुने, पैसा नदिए जोखिम हुने पनि हुन्छ ?’ उनी २०४५ सालदेखि बस चलाउँदै आएका छन् ।
सामान राख्दा दुर्घटनाको जोखिम हुने भए बस स्टेण्डदेखि नै सामान राख्न नदिनुपर्ने उनको भनाइ छ । अर्का को.१ ख ७१७८ पाथीभरा बसका चालक ध्रुव खड्काको पनि त्यस्तै अनुभव छ । अन्य चालकले पनि ट्राफिकको अनावश्यक सास्ती धेरै नै व्यहोर्नु पर्ने बताए ।
१ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका सूचना अधिकारी डिएसपी सुमन तिमिल्सिना ट्राफिक प्रहरीले कसैलाई कानूनविपरीत रकम लिने कार्य गरेको आधिकारिक सूचना आए तत्काल कारबाही गर्ने बताउँछन् । उनले भने, ‘यस्ता कार्यलाई निरुत्साहित गर्न लागिरहेका छौँ, रकम लिएर पनि रसिद दिन्छन् भने आधिकारिक हुन्छ, राज्यलाई फाइदा हुन्छ तर, कानूनविपरीत कार्य गरे जरुर कारबाही हुन्छ ।’
तिमिल्सिनाले अधिकांश बस छत नभएको आउने र भएकाको पनि काटिसकेको बताउँदै पैसा लिएर छोड्छ भने कारबाही हुने बताए । उनले आफूलाई आधिकारिक सूचना आए तत्काल कारबाही गर्ने बताए ।

तारले पनि समस्या
विद्युत्, इन्टरनेट सेवा प्रदायक कम्पनी, टेलिभिजनका केबुल नेटवर्कलगायतका तारहरू सडकको मापदण्डभन्दा कम उचाइमा हुँदा समस्या भएको चालकहरू बताउँछन् ।
को.१ ख ७७६६ नम्बरको पशुपति दर्शन बसका चालक सत्यनारायण चौधरी विद्युत् प्राधिकरणले सडकको मापदण्ड मिचेर तल–तल तार राख्ने गरेको र गाडी चलाउँदा छोएमा पैसा तिर्नुपर्ने बताए ।
को.१ ख ३७४४ नम्बरको पाथीभरा दर्शन बसका चालक पदम सापकोटाले पनि तार तल रहेको हुँदा बसले छोएमा पैसा तिर्नुपर्ने बताए । उनले भने, ‘मापदण्डभन्दा तल तार हुन्छ, सडकले पनि राजस्व तिरेको हुन्छ तर, तार छुने बित्तिकै पैसा लिन्छन् ।’
को.१ ख ७१७८ नम्बरको पाथीभरा बसका चालक ध्रुव खड्का तारहरू मापदण्डमा भए बसले छुँदै नछुने बताउँछन् । उनी भन्छन्, ‘कि सडकमा बसै नकुदाउनु प¥यो ।’ यो समस्या विभिन्न जिल्लाका सहरी क्षेत्रमा रहेको चालकहरूको भनाइ छ । टेलिकमले सडकको ठाउँ–ठाउँमा खाल्डो पारिदिने तथा समयमा नबनाउँदा समस्या भएको बताए ।
विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरका प्रमुख राजन ढकालले तारहरू नियमअनुसार नै राखिएको दाबी गरे । उनले भने, ‘कतै विद्युत्का पोलहरू पुरानो भएर तल झरेकोे हुनसक्छ, तर, तल राखिएको भने होइन ।’
नेपाल टेलिकम, इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक कम्पनीले प्राधिकरणसँग समन्वय नगरी तार टाँगेको बताउँदै उनले भने, ‘व्यवस्थित नगरेका कारण आगलागी हुने, मानवीय क्षति हुने, पोल ढल्ने भइरहेको छ ।’
उनले नेपाल टेलिकमले पनि तारहरू व्यवस्थापन गर्नुपर्ने बताए । नेपाल टेलिकम प्रादेशिक कार्यालय विराटनगरका सूचना अधिकारी प्रशान्तबाबु तिवारीले टेलिकमको केही स्थानमा अण्डर ग्राउण्ड र केही स्थानमा एरियल (तार) संरचना रहेको बताए ।
उनले एरियल संरचनाका लागि विद्युत् प्राधिकरणसँग सहकार्य गरेको बताए । उनले भने, ‘धेरै पोल हुँदा सहर कुरूप पनि हुने भएकाले प्राधिकरणसँग सहकार्य गरेका छौँ, कही समस्या आएको जानकारी आउने बित्तिकै समाधान गर्छौं ।’

सडक मर्मत नहुँदा सास्ती
मदन भण्डारी राजमार्ग अन्तर्गतको धरान–धनकुटा सडक–खण्डको भेडेटारभन्दा तल निशाने खोलाछेउको सडक मर्मत नहुँदा सवारी चालकहरूले सास्ती खेप्दै आएका छन् ।
निशाने खोलाछेउको सडक करिब एक वर्षदेखि बिग्रिए तापनि सम्बन्धित निकायले चासो नदिँदा सास्ती हुने गरेको चालकहरूले बताएका छन् । ना.१ ज २०५० को ल्याण्ड रोभरका चालक अशोक खवासले सडक मर्मत नहुँदा समस्या भएको बताए । उनले भने, ‘ठूला–ठूला खाल्डा छन्, पत्ती भाँचिने डर र दुर्घटनाको जोखिम पनि हुन्छ ।’
बसका चालक पदम सापकोटाले पनि सडक मर्मत नहुँदा बस रोकेर बस्नुपर्ने बाध्यता रहेको बताए । उनले भने, ‘अप्ठ्यारो बाटो छ, जाम हुन्छ, दुर्घटनाको जोखिम पनि छ ।’ अर्का चालक सत्यनारायण चौधरीले पनि सास्ती बेहोर्दै आएको बताए । उनले भने, ‘ठूला खाल्डा छन्, यता झर्ला कि उता झर्ला कि भन्ने डर हुन्छ ।’
त्यस्तै मोटरसाइकलका चालक हरिचन्द्र लिम्बू पनि सडकको खाल्डाखुल्डीले दुर्घटनाको जोखिम र दुर्घटनासमेत भइरहेको बताए । सडक डिभिजन कार्यालय विराटनगरका इञ्जिनियर शुभद्रा महर्जन उक्त क्षेत्रमा सडक भासिने समस्या भएको बताउँछिन् ।
जमिन भासिने समस्या छ, तलबाट नै बनाउनका लागि ठेक्का लागिसकेको उनले जानकारी दिइन् । उनले भनिन्, ‘ठेक्का लागि सकेको छ, दशैँ पछिदेखि काम सुरु हुन्छ ।’
उक्त सडक–खण्डमा साना–ठूला गरी दैनिक सयौँको सङ्ख्यामा यातायातका साधन आवात–जावत गर्छन् । उत्तरी पहाडी संयुक्त काउण्टरका अनुसार बस मात्र दैनिक ८० भन्दामाथि धरान भएर बाहिरिने गरेका छन् । साना यातायातका साधानहरू त्योभन्दा बढी बाहिरिन्छन् ।