धरान । धरान–६ पानबारीकी एक महिलाले आत्महत्या गरेको घटनाले नयाँ मोड लिएको छ ।
शनिबार राति २५ वर्षीया मनिषा मगरले झुण्डिएर आत्महत्या गरेपछि स्थानीय २४ वर्षीय सुनिल बस्नेतमाथि हातपात र उनको घरमा तोडफोडको प्रयास भएको छ ।
मृतक मगरको माइतीपक्षले बस्नेतमाथि आत्महत्या दुरुत्साहनमा निवेदन दिएपछि प्रहरीले बस्नेतलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।
उनका अनुसार मृतक पक्षबाट आक्रोसित भीडले युवाको घरमा घेराउ साथै तोडफोडको प्रयास गरेका थिए । तर, प्रहरी समयमा पुगेका कारण अप्रिय घटना हुन नपाएको उनले जानकारी दिए ।
‘माइती पक्षले दुरुत्साहनमा उजुरी दिनुभएको छ’ उनले भने, ‘मुद्दा दर्ता गरेर अनुसन्धान अगि बढ्छ ।’ मृतक महिलाको करिब ७ वर्षीय छोरासमेत छ । जानकारका अनुसार मृतक मगर र बस्नेतबीच सानैदेखिको प्रेमसम्बन्ध रहेको थियो । पढ्ने उमेरमै प्रेमसम्बन्ध भएको थाहा पाएपछि परिवार र नजिकका आफन्तले मिलेर छुटाएका थिए ।
‘त्योबेला उनीहरूको उमेर त्यस्तै १३–१४ वर्षको थियो होला, दुवै जनाबीच मन परापर भएछ’ नाम नछाप्ने सर्तमा ती जानकारले भने, ‘परिवारले नै छुटाएका थिए ।’ त्यसबीचमा सुनिल वैदेशिक रोजगारीअन्तर्गत कतार र दुबई गएका थिए भने मनिषाले झापाको केटासँग बिहे गरेकी थिइन् ।
उक्त पतिसँगको एउटा छोरा छ । यता इप्रका धरानका डिएसपी कुँवरका अनुसार सुनिल र मृतक मनिषाबीच प्रेमसम्बन्ध थियो कि भन्ने शङ्का छ । करिब दुई वर्षदेखि श्रीमान्सँग छुट्टिएर बसेकी मनिषा काठमाडौंमा बस्दै आएकी थिइन् ।
त्यहीबीचमा सुनिलसँग फेरि सम्बन्ध जोडिएपछि बिहे गर्ने आश्वासन दिएका कारण पानबारी आएको माइती पक्षको भनाइ छ । सुनिलले पहिलो पतिलाई छाडेमा आफूले बिहे गर्ने बताएकाले केही दिनअघि पानबारी आएको बुझिएको छ तर, एक्कासि सुनिलले स्वीकार नगरेपछि आत्महत्याको बाटो रोजेको परिवारको भनाइ छ ।
मृतक मनिषा शुक्रबार राति सुनिलको घरमा गएकी थिइन् । जनप्रतिनिधि तथा स्थानीयले मनिषालाई घर जान र शनिबार विस्तृतमा छलफल गर्नुपर्छ भनी सम्झाई बुझाई गरेका थिए । ‘एकैचोटी भित्रिन आइछ, मलाई पनि जानकारी आयो, विस्तृत थाहा नभएकाले मैले गएर बैनी भोलि उज्यालोमा राम्ररी कुरा गरौंला भनें’ ६ नम्बर वडाध्यक्ष भूवनसिंह बस्नेतले भने, ‘उनीहरूको सम्बन्ध के थियो, त्यो पनि मलाई केही थाहा थिएन, घटनापछि मात्रै पुराना कुराहरू सुनियो ।’
वडाध्यक्ष बस्नेतले थपे, ‘केटोले घरमा बोलाएको हो भने केटोको गल्ती हो, मेरो छोरो, मेरो भतिज भन्ने पक्षमा छैन, सजायको भागीदार हुनुपर्छ ।’ तर, केटो र मृतक केटीसँग नै राम्ररी छलफल गर्न नपाएकाले घटनाको प्रकृति नै राम्रोसँग बुझ्न नसकेको उनले बताए । ‘म आफू पनि अनुसन्धानमै छु, केटासँग पनि राम्रो बोल्न पाइएन, केटीसँग त घटनाको अघिल्लो रात मात्रै भेटेको हुँ’–उनले भने ।