धरान/ तेह्रथुमको फेदाप गाउँपालिका–३ जलजले लक्ष्मी गाउँका क्यान्सर पीडित विष्णुकुमार सिङ्गकलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

‘याक्थुङ सिङ्गक फाउण्डेसन’ को पहलमा सङ्कलित ७ लाख ५ हजार रुपैयाँ गायक राजेशपायल राईको हातबाट पीडितलाई हस्तान्तरण गरिएको हो । ६३ वर्षीय सिङ्गक विगत ९ महिनादेखि घाँटीको क्यान्सरबाट पीडित छन् ।

६ महिनाअगाडि उनलाई उपचार गर्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो तर, प्रतिष्ठानबाट उनलाई थप उपचारका लागि भक्तपुर क्यान्सर अस्पतालमा रिफर गरिएको थियो ।

खेतीपाती बाट आफ्नो जीवनयापन गरिरहेका निम्न आर्थिक अवस्थाका सिङ्गकको जायज्यथाले उपचार खर्च गर्न एक महिना पनि धान्न सकेन । त्यसपछि उनले आफ्नो जीवन बचाइदिन आग्रह गर्दै सामाजिक संस्था ‘याक्थुङ सिङ्गक फाउण्डेसन’ लाई आग्रह गरेका थिए ।

त्यसपछि फाउण्डेसनले देश विदेशमा रहेका व्यक्तिहरूसमक्ष अपिल गरेर सहयोग जुटाएको हो । हालसम्म एक महिनाभित्र मनकारी सहयोगीहरूबाट १० लाख १७ हजार सङ्कलन भएकोमा विष्णुकुमारको पाँच महिना देखिको उपचार खर्च, कोठा भाडा, खाद्यान्न, औषधिलगायत घरसम्म पुग्ने जम्मा खर्च ७ लाख ५ हजार हस्तान्तरण गरिएको फाउण्डेसनकी अध्यक्ष मीना सिङ्गकले बताइन् ।

विष्णुकुमारलाई सम्पूर्ण खर्च उपलब्ध गराएपछि बचेको ३ लाख १२ हजार उनकै आग्रहमा अरूको सहयोगका लागि हस्तान्तरण गरिने अध्यक्ष सिङ्गकको भनाइ छ । उनी भन्छिन्, ‘विष्णुकुमारले अब आफू निको भएको र बाँकी जीवन मेहनत गरेरै यापन गर्ने भन्दै आफूजस्तै उपचारमा खर्च अभाव भएका पीडित र दुःखीहरूका लागि सहयोग गर्नुस् भन्नुभएको छ ।’

बाँकी रहेको रकम फाउण्डेसनको खातामा जम्मा गरिने र आवश्यक परेका पीडितहरूलाई बुझेर सहयोग गर्ने अध्यक्ष सिङ्गकले बताइन् । फाउण्डेसनले यसअघि पनि विभिन्न पीडितहरूलाई सहयोग जुटाउँदै आएको छ ।