धनकुटा। धनकुटा नगरपालिका वडा नं.५ स्थित बिहिबारे हटियामा जोखिम निम्त्याउने खतरामा रहेको २ वटा सल्लाको रुख नेपाली सेनाको सहयोगमा पन्साईएको छ ।
जिल्ला विपत व्यवस्थापन समिति धनकुटाको समन्वयमा किराँत आठपहरिया जातिको मार्गाथान नजिकै रहेको करिब २ सय वर्ष भन्दा पनि पुरानो सल्लाको रुख ढल्ने खतराले जोखिम बढेपछि नेपाली सेनाको सहयोगमा हटाइएको हो । हरेक बिहिबारे हटिया लाग्ने व्यस्त रहने स्थानमा रहेको वर्षाको कारण ढल्न लागेको ती दुई वटा सल्लाको रुख धनकुटा स्थित नेपाली सेनाको वरखगण सल्लेरीबाट खटिएको फौजको टोलीले हटाएको हो ।
रुख पन्साउने क्रममा स्थानिय सीता राई र लोका रिजालको घरमा पुर्णरुपमा क्षति पु¥याएको छ । जोखिम पन्साउने क्रममा रुख ढाल्दा उनीहरुको घरमा पुर्ण क्षति पुगेको हो । उनीहरुलाई तत्काल नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धनकुटाले राहत स्वरुप त्रिपाललगायतको सामाग्री प्रदान गरेको शाखा सभापति हरी नाम्दुङ राईले बताएका छन् । दुवै परिवारको जनही १० लाख भन्दा बढी क्षति भएको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटाका नायव सुब्बा रत्न दर्लामीका अनुसार जिल्ला विपत व्यवस्थापन समितिको समन्वयमा गएको असोज ८ गतेदेखि वरखगण सल्लेरीको टोलीले २ वटा सल्लाको रुख पन्साउने कार्य गरेको बताएका छन् । उनले बुढो रुख आफै ढलेर दोश्रो रुखमा अड्किएकाले सर्वसाधरण आवत जावतमा गम्भिर जोखिम भएपछि तत्काल विपत व्यवस्थापन समितिको बैठक बसेर रुख पन्साउने कार्य अघि बढाइएको बताए ।
एमानको ठूला ठूला २ वटा रुख पन्साउनका लागि वरखगणका उपसेनानी प्रेम बहादुर तामाङको कमाण्डमा दैनिक १५ जनाको नेपाली सेनाको टोली खटिएर काम गरेको थियो । रुख ढलेर २ वटा घरमा क्षति पु¥याएको र बाटोसमेत अवरोध गरेकाले तत्काल पन्साउनको लागि नेपाली सेनाको सहयोग लिनु परेको धनपा–५ का वडाध्यक्ष धनबहादुर आठपहरियाले बताए । उनले जोखिम पन्साउनका लागि सहयोग गर्नु हुने जिल्ला विपत व्यवस्थापन समितिका सदस्यहरु, नेपाली सेना, जिल्ला रेडक्रसलगायत सबै सबैलाई धन्यवाद दिए ।
किराँत आठपहरिया समाज नेपाल धनकुटाका जिल्ला अध्यक्ष अष्टवहादुर छोङदेन आठपहरियाले मार्गा गुठीको नाममा रहेको सल्लाको रुख २–३ सय वर्ष पुरनो भएको बताए । उनले उक्त सल्लाको रुखको काठपात आठपहरिया जातिले चलाउन नमिल्ने वा बाल्न नमिल्ने परम्परा रहेको बताए ।
मार्ग सञ्चालन समितिले पूजा आजामा दाउराको रुपमा बाल्ने बाहेक त्यस स्थानका रुख अन्य प्रयोगमा नआउने अध्यक्ष आठपहरियाले बताए । उनले ढलाइएका २ वटा सल्लाको रुख गुठी समितिको निर्णय अनुसार कोटेशन खुलाएर फर्निचरलाई बिक्री गरेर आम्दानीको रुपमा राखिने बताएका छन् ।