धरान । किरात राई यायोक्खाको धरान–१३ गौरामार्गस्थित  कार्यालय भवन निर्माणका लागि शनिबार शिलान्यास भएको छ । करिब ४५ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको भवनको शिलान्यास धरान उपमहानगरपालिका १३ नं. वडाका अध्यक्ष नेत्रप्रसाद काफ्लेले गरेका थिए ।

किरात राई समुदायको परम्परागत संस्कारअनुसार नछोङले मुन्दुम फलाक्दै बेछु (अदुवा) को कचुर हानेर शिलान्यास गरिएको थियो । किरायाका १३ नम्बर वडा कार्यसमितिका अध्यक्ष श्रीपाल चाम्लिङ राईको अध्यक्षतामा सम्पन्न भएको शिलान्यासपछि किराया जिल्ला कार्य समिति सुनसरीका अध्यक्ष बलराम राईले किरात राई समुदायको धर्म, संस्कार र संस्कृति संरक्षण गर्न १३ नं. वडामा भवन निर्माण गर्न लागेको बताए । उनले उक्त भवन तयार भएपछि गैरकिराती समुदायहरूले पनि उपभोग गर्न पाउने बताए ।

समितिका सह–कोषाध्यक्ष वसन्त बान्तवाका अनुसार उक्त भवन ६ महिनाभित्रमा निर्माण गरिसकेर आगामी साकेला उँभौली त्यहीँ मनाउने गरी तीव्रता दिएको बताए ।

भवन निर्माणका लागि धरान उपमहानगरपालिका १३ नं. वडाका तर्फबाट ५ लाख रुपैयाँ विनियोजन गरिएको वडाध्यक्ष काफ्लेले बताए । उनले सम्भव भएसम्म विभिन्न जातजातिको धर्म, संस्कार, संस्कृति संरक्षणका लागि भवन निर्माण गर्न वडा कार्यालयले आर्थिक सहयोग दिने बताए ।

भवन निर्माणका लागि धरान–१३ का भारतीय भूतपूर्व गोर्खा सैनिक अनरेरी सुवेदार मेजर देशबहादुर राई र निर्माण व्यवसायी पूर्णबहादुर राईले संयुक्त रूपमा साढे ९ धुर जग्गा उपलब्ध गराएपछि भवन निर्माणको काम सुरु भएको हो ।

शिलान्यासमा किराया वडा कार्यसमितिका सल्लाहकार भूवनसिंह राई, निवर्तमान अध्यक्ष मौलमान राई, समाजसेवी टीका थुलुङ राई, किराया उपमहानगर कमिटी सचिव मविन राई, याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष भक्तबहादुर लिम्बूलगायतले आफ्ना धारणा व्यक्त गरेका थिए ।