धनकुटा । धनकुटा जिल्लाको सात वटा स्थानीय तहमा रहेका ३ सय ५ वटा सामुदायिक वन समुहमध्ये २० वटा सामुदायिक वन सुमहमा द्वन्द्व देखिएको छ । 

ती सामुदायिक वनमा देखिएका विवाद स्थानिय स्तरमा समाधान हुन नसकेपछि जिल्ला स्थित् द्वन्द्व रुपान्तरण केन्द्र, नेपालमा उजुरी परेको छ । शािन्तका लागि साझेदारी कार्यक्रम अन्तर्गत प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण कार्यक्रमको छैटौं चरणमा सम्पन्न भएका प्रगति विवरण सरोकारवालाहरू माँझ सार्वजानिक गर्ने क्रममा शुक्रबार यस्तो जानकारी दिइएको हो ।

प्राकृतिक श्रोतद्वन्द्व रुपान्तरण केन्द्र नेपाल धनकुटाका श्रोत व्याक्ति भोज बहादुर विश्वकर्माले धनकुटा जिल्लाको ३ सय ५ वटा सामुदायिक वन समुहमध्ये २० वटा सामुदायिक वन समुहहरूमा द्वन्द्व रहेको सरोकारवालाहरूलाई जानकारी दिए ।

राष्ट्रिय श्रोत व्याक्तिसमेत रहेका उनले सरकारी नियम, कानु्नको कारणले गर्दा पनि आम समुदायमा जल, जमिन र जंगलको विषयमा द्वन्द्व चलिरहेको औल्याए । उनले मानव र प्रकृति बीच कहिल्यै नटुङ्गिने गरी द्वन्द्व चलिरहे पनि प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण नेपालले सुमदायमा दिगो शान्ति र उन्नत सम्बन्ध कायम राख्ने गरी द्वन्द्व रुपान्तरणका विविध कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए ।  

केन्द्रले हरेक वर्ष २ देखि ४ वटासम्म द्वन्द्व रुपान्तरण गर्दै आएकोमा यो वर्ष भने कोरोनाको कारण लकडाउन भएकोले २ वटा साुमदायिक वनको मात्र द्वन्द्व रुपान्तरण गर्न सफल भएको श्रोत व्याक्ति विश्वकर्माले बताए । सो अवसरमा उनले यो वर्ष धनकुटा नगरपालिकाको वडा नं.९ मा रहेको भैसीखाम सामुदायिक वनको सिमासम्बन्धी द्वन्द्व सामुदायिक वन उपभोक्ता समुह र जग्गा उपभोग गरिरहेका १४ घर परिवारबीच रहेको र सामाधानको बाटोमा अघि बढिरहेको बताएका छन् ।

त्यसैगरी धनपा वडा नं.९ कै जाल्पादेवी सालघारी सामुदायिक वनको सिमासम्बन्धी द्वन्द्व वन उपभोक्ता समुह र वनको जग्गा उपभोग गर्ने ८ घर परिवारबीच रहेको र द्वन्द्व रुपान्तरणको क्रममा पक्षहरूसँग विकल्प पहिचानका लागि धारणा सङ्कलन गर्न बाँकी रहेको विश्वकर्माले जानकारी दिएका छन् ।

धनपा–९ वेलहराको भैसीखाम सामुदायिक वन वि.सं.२०४६ सालमा गठन भई ०५२ सालमा हस्तान्तरण भएको थियो भने जाल्पा देवी सालघारी सामुदायिक वन वि.सं.२०६० सालमा गठन भई सोही सालमा वन समुहलाई हस्तान्तरण गरिएको थियो । भैसीखामको ९८.१९ र जाल्पादेवी सालघारी सामुदायिक वनको ३२.३६ हेक्टर वन क्षेत्र ओगटेको बताइएको छ ।

जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक बहादुर चौहानको प्रमुख आतित्थ्यमा सम्पन्न छलफल तथ प्रगति विवरण सार्वजनिक कार्यक्रममा सहभागीहरूले द्वन्द्व रुपान्तरण केन्द्रले सञ्चालन गरेको कार्यक्रमहरुको बारेमा जिल्लाको ३ सय ५ वटै सामुदायिक वनहरूलाई जानकारी हुनु पर्नेमा जोड दिएका छन् ।

उनीहरूले जिल्ला स्थित् सरोकावालाहरूको छलफलमा द्वन्द्वरत दुवै पक्षका प्रतिनिधिहरूलाई उपस्थित गराउनु पर्नेमा जोड दिएका छन् । उनीहरूले त्यसो गरिए मात्र प्राकृतिक श्रोतसम्बन्धी द्वन्द्व व्यवस्थापनमा सहयोग पुग्ने दाबी गरेका छन् । उनीहरूले जहाँ प्राकृतिक श्रोत राज्यको नियन्त्रणमा छ, त्यस्ता देशहरुमा प्रकृतिसँग द्वन्द्व कम हुने गरेको पनि उदाहरण पेश गरेका छन् । 

राष्ट्रिय सिँचाई उपभोक्ता महासङ्घ धनकुटाका अध्यक्ष दिपक बुढाथोकीको अध्यक्षतामा सम्पन्न जिल्ला स्तरिय छलफल तथा अन्तरक्रिया कार्यक्रममा सुकुम्वासी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष नैन विश्वकर्मा, नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई, डिभिजन वन कार्यालय धनकुटाका प्रतिनिधि गोविन्द खत्री, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाका अध्यक्ष सन्तवीर लामालगायतले आ–आफ्नो धारणा राखेका थिए ।