पथरीशनिश्चरे / मोरङको पथरीशनिश्चरे नगरपालिका वडानम्बर ५ हसन्दह शान्तिचौक क्षेत्रको धानबालीमा खैरो फड्के किराको प्रकोप सुरु भएको छ ।

स्थानीय ठगेन्द्र राउतको १ बिघा, कमलबहादुर अधिकारीको १५ कठ्ठा र दिलबहादुर राउतको ८ कठ्ठा जग्गाको धानमा खैरो फड्के किराको प्रकोप देखिएको छ । उनीहरूले प्राविधिक जाँचका लागि नगरपालिका कार्यालयमा निवेदन दिएपछि त्यहाँको अवस्था जाँच गर्दा खैरो फड्के किराको प्रकोप फैलिएको पाइएको नगरको कृषि शाखा प्रमुख सावित्रा कार्कीले बताइन् । यो किराले आफ्नो सियोजस्तो मुखले पात र पातको आधारबाट रस चुस्ने गर्दछ ।

जसबाट धान पूरै डढेलो लागेजस्तो सुकेको देखिन्छ । यसलाई हपरबर्न पनि भनेर भनिन्छ । यिनीहरूको चुसाहा प्रवृत्ति यति घातक हुन्छ कि बोटको धेरै तन्तुहरूमा धेरै घाउहरू लाग्दछ र घाउबाट अन्य हानिकारक सूक्ष्म जीवाणुको सङ्क्रमण भई धेरै रोगहरू समेत पैदा हुन्छ । यो किरा भाइरस रोगको प्रमुख कारकसमेत मानिने शाखा प्रमुख कार्कीले जानकारी गराइन् ।

उनले धान रोप्दा धेरै गाँज नरोप्ने, गाँजको घनत्व कम गर्ने , ३–४ दिनमा पानीको सतह घटाउने बढाउने, धान बालीमा भ्यागुताको सङ्ख्या बढाउने, माछापालन गर्नाले यस्तो रोग लाग्नबाट बचाउने बताइन् । यस किराको सङ्क्रमण हुने बित्तिकै प्राङ्गारिक विधिका रूपमा मेट्राइजिम एनिसोप्लेइमा  निमको तेलमा मिसाई छर्ने र रासायनिक विधि अन्तर्गत इमिडाक्लोप्रिड, एसिफेट, पेक्सालोन नामक विषादी जुन १ एमएल वा १ ग्राम प्रतिलिटर पानीमा मिसाई छर्ने गर्नुपर्दछ । अघिल्ला वर्षहरूमा पनि हसन्दह क्षेत्रमा फड्के किराको प्रकोप देखिएको थियो ।