धनकुटा। धनकुटाको महालक्ष्मी नगरपालिका–६ गुठस्थित नागेश्वर दुग्धनाथ मन्दिरमा ठूलो लगानीमा नयाँ भवन निर्माण गरिने भएको छ ।  

१ करोड, ५६ लाख, ८६ हजारको लागतमा मन्दिरमा नयाँ भवन निर्माण गर्न लागिएको हो । महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले एक कार्यक्रमका बीच भवनको शिलान्यास गरेका छन् । भवन बनाउँने ठाउँमा निर्माण सामाग्री राखेर मेयर नेपालले शिलान्यास गरेका हुन् ।

भवन निर्माण सम्पन्न भएपछि मन्दिरमा महन्तहरु बस्न सहज हुँने र धार्मिक पर्यटनको विकासमा पनि टेवा पुग्ने मेयर नेपालले बताए । पुरानो र आकर्षक शैलीमा बनाइने सो भवन निर्माणका लागि पुरातत्व बिभाग अन्तर्गत पुननिर्माण प्राधिकरणले ठेक्का लगाएको छ ।

धर्म एस छाँयाश्वरी दिब्यश्वरी लोकन्थली भक्तपुरले निर्माणको जिम्मा लिएको छ । दुई तला बन्ने सो भवन एक बर्षभित्र निर्माण गरिसक्ने योजना छ । भवन निर्माण कार्य सम्पन्न भएपछि त्यस क्षेत्रमा धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास नगरपालिकाले लिएको छ ।