सुनसरी । प्रदेश १ सरकार र स्थानीयको आर्थिक सहयोगमा तीनवर्षअगि कोसी गाउँपालिका–८ स्थित सीमा प्रहरी चौकी भण्टाबारीको कार्यालयअगाडि सीसीटिभी क्यामेरा जडान गरियो ।
चोरीपैठारीसँगै आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिए पनि सुविधायुक्त भनिएको उक्त क्यामेरा केही महिनामै बिग्रियो । त्यसैगरी सशस्त्र प्रहरी बल (बीओपी) भण्टाबारी मातहत निगरानी हुनेगरी दुईवर्ष पहिले जडान गरिएको सीसीटिभी क्यामेरा बिग्रिएको महिनौं भयो । तर, अझै पुनः ती क्यामेरा सञ्चालनको लागि पहल नभएको स्थानीय बताउँछन् । त्यसैगरी कोसी गाउँपालिका–१ स्थित सीमाको निगरानी गर्ने उद्देश्यले जडित सीसीटिभी क्यामेरा अलपत्र अवस्थामा रहेको स्थानीय सान पाठकले जानकारी दिए ।
प्रदेश सरकारले सीमावर्ती क्षेत्रमा हुँदै आएको चोरीपैठारी, आपराधिक गतिविधि रोकथाम गर्दै समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरी प्रशासनलाई सहयोग पुग्ने उद्देश्यले सुनसरीलगायतका जिल्लामा सीसीटिभी क्यामेरा जडान गरे पनि ती अधिकांश बिग्रिएको अवस्थामा छन् ।
‘सुरक्षा र भीडभाड नियन्त्रण गर्दै अपराध न्यूनीकरण र आपराधिक गतिविधि गरेर भाग्ने व्यक्ति वा समूहलाई पहिचान गर्न मद्दत पुग्ने भन्दै मुख्य राजमार्ग क्षेत्रमा सीसीटिभी क्यामेरा जडान गरिएको थियो’–कोसी गाउँपालिका–८ भण्टाबारीका सज्जाद आलमले भने । कोसी क्षेत्रमा जडान गरिएका सीसीटिभी क्यामेराहरू नाइटजिन क्यामेरा भएको दाबी गरिएका ती क्यामेराहरू केही महिनामै बिग्रिएर काम नलाग्ने भएका छन् ।
नेपाल–भारतस्थित तीनकुने नाकामा जडान गरिएको सीसीटिभी क्यामेरा बिग्रिएकाले मर्मत गर्न हेडक्वार्टर पठाएको सशस्त्र प्रहरी बल (बीओपी ) भण्टाबारीका इन्स्पेक्टर भुवन खड्काले बताए । खासगरी सीमाजस्तो संवेदनशील क्षेत्रमा सीसीटिभी क्यामेरा आवश्यक भएकाले तत्काल मर्मत गरिदिन आग्रह गरेको उनले बताए ।
त्यसैगरी कोसी गाउँपालिका–१ लौकहीस्थित सीमावर्ती क्षेत्रको निगरानीका लागि जडान गरिएको क्यामेरा महिनौंदेखि बिग्रेकाले थप चुनौती थपिएको सशस्त्र प्रहरी बल (बीओपी) लौकहीका इन्स्पेक्टर अरुण पाण्डे बताउँछन् । ‘सीसीटिभी क्यामेरा सञ्चालन हुँदा सीमामा हुने गतिविधिमाथि निगरानी गर्न अलि सहज हुने गथ्र्यो’ उनले भने, ‘आवश्यकताअनुसार जनशक्ति र त्यसमाथि निगरानी गर्न सहज हुने क्यामेरा बिग्रेकाले केही चुनौती थपिएको हो ।’
लौकहीदेखि सीमासम्म पुग्ने बाटो कालोपत्रे गर्ने क्रममा क्यामेरा बिग्रेपछि मर्मत गरिदिन ध्यानाकर्षण गराउँदै आएको उनले बताए । जिल्लाका सीमावर्ती क्षेत्र र मुख्य मुख्य बजार क्षेत्रमा प्रदेश सरकार र स्थानीय तहको सहयोगमा सीसीटिभी स्थानीय प्रहरी र जिल्ला प्रहरी कार्यालय सुनसरीले कन्ट्रोल गर्नेगरी जडान गरिए पनि अहिले ती क्यामेराहरू अलपत्र अवस्थामा छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाले प्रदेश सरकारको सहयोगमा जिल्लाका विभिन्न स्थानमा ४० वटा सीसीटिभी क्यामेरा जडान गरिएकोमा हाल सबै सञ्चालनमा नरहेको बताए । जिल्लाका मुख्य बजारक्षेत्र र सीमामा प्रदेश सरकारको सहयोगमा ४० वटा क्यामेरा जडान गरिएको थियो ।
तीमध्ये अहिले कुनै पनि सञ्चालनमा छैनन्, सबै बिग्रिएका छन् । प्रदेश प्रहरी कार्यालयले सुनसरी, मोरङ र झापा जिल्लामा जडान गरिएका सीसीटिभी बिग्रिएपछि अनुसन्धान गर्न एसपी नवीन राईको नेतृत्वमा गठन गरेको समितिले प्रदेश सरकार अन्तर्गत रहेको आन्तरिक मामिला मन्त्रालयमा अध्ययन प्रतिवेदन बुझाएकाले बिग्रेका क्यामेरा मर्मत गर्ने वा नयाँ जडान गर्नेबारे छिट्टै निर्णय गरिनेमा आफू आशावादी रहेकोे उनले बताए ।
‘प्रदेश प्रहरी कार्यालयसँगै हामीले पनि स्थानीय तहका जनप्रतिनिधिहरूलाई सीसीटिभी जडान गर्न ध्यानाकर्षण गराएका छौं’ एसपी थापाले भने, ‘उहाँहरू यसबारे सकारात्मक हुनुहुन्छ । खुला सीमानाकाका कारण संवेदनशील मानिएको सुनसरीजस्तो जिल्लाका सीमा क्षेत्र निगरानी गर्न सीसीटिभी क्यामेरा जडान गरिनु आवश्यक देखिएको उनको कथन छ ।