विराटनगर । समाजलाई अपराध र अपराधको भयबाट मुक्त राख्नु र पीडितलाई कानून बमोजिम उचित न्यायीक उपचार उपलब्ध गराउने उद्देश्यले मोरङ प्रहरीले पीडित मैत्री अभियान सुरूवात गरेको छ ।
मोरङ प्रहरीले अपराधिक घटनाबाट पीडित बनेकाहरुसँग भेटघाट कार्यक्रम सुरु गरेको हो । समाजलाई अपराध र अपराधको भयबाट मुक्त राख्नु र पीडितलाई कानून बमोजिम उचित न्यायीक उपचार उपलब्ध गराउने उद्देश्यका साथ पीडित मैत्री वातावरण सिर्जना गर्दै यस्तो अभियानको शुभराम्भ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
अभियान अन्तर्गत शुक्रबार खुन डाँका मुद्दाका पीडितलाई प्रहरीले भेटघाट गरेर कार्यक्रमको सुरूवात गरेको छ । ३६ वर्षअघि डाँका समूहको आक्रमणमा पत्नी जीवनदेवीलाई गुमाएका ८५ वर्षीय धर्मध्वज थापाबाट प्रहरीले भेटघाट सुरु गरेको हो । उनको घरमा २०४२ साल भदौ १८ गते डाँका समूहले आक्रमण गरेर पत्नीको हत्या गर्दै धनमाल डकैती गरेको थियो ।
घटनामा संलग्न मोरङ कटहरी गाउँपालिका–७ तकियाका ८७ वर्षीय उजारू चौधरी थारू र सोही स्थानका ५० वर्षीय शिवना सरदार वातरलाई गत भदौ ९ गते प्रहरीले पक्राउ गर्यो । खुन–डाँका मुद्दा चलाइएका उनीहरू घटनाको ३६ वर्षपछि पक्राउ पर्दा घटनाबाट पीडित बनेका थापाले ठूलो राहत महसुस गरेका छन् ।
त्यसपछि मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहितको टोलीले थापालाई घरमै गएर भेटेको छ । घटनामा संलग्नलाई पक्राउ गरेर कानुनी कारबाही भएको जानकारी गराउन एसपी जिसीसहितको टोली टोली थापाको घरमा पुगेको हो ।
पीडित भेट्न प्रहरी प्रमुख सहितको टोली घरमै आउँदा थापा खुसी पनि भए । उनले लामो समय पछि न्याय पाएको बताए । पीडित थापाले भने,‘ प्रहरीको यो अभियानको प्रशंसा समेत गर्छु ।’ थापासँग भेट थाल्दै प्रहरीले पीडितसँगको पुनः भेटघाट कार्यक्रम सुरु गरेको हो ।
पीडितलाई कानुनबमोजिम उचित न्यायिक उपचार उपलब्ध गराउने उद्देश्यले पीडितसँगको भेटघाट कार्यक्रम सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी श्रेष्ठले बताए । पीडकलाई कानुन बमोजिमको दण्ड दिनु, समाजलाई अपराध र अपराधको भयबाट मुक्त राख्नु र पीडितलाई कानून बमोजिम उचित न्यायीक उपचार उपलब्ध गराउने उद्देश्यका साथ पीडितमैत्री वातावरण सिर्जना गर्न कार्यक्रम फलदायी हुने उनको भनाइ छ ।
पीडक र उसको पक्षबाट पीडितलाई हुन सक्ने दबाब, प्रभाव तथा हस्तक्षेपलाई रोक्न, पीडितलाई सुरक्षित अनुभूति गराउन, पीडितको पीडा कम गर्दै आत्मबल अभिवृद्धि गर्न र नेपालको संविधान २०७२ को धारा २१ र अपराध पीडित संरक्षण ऐन २०७५ को परिच्छेद २ मा व्यवस्था भए अनुसार अनुसन्धानसम्बन्धी सूचनाको अधिकार, न्यायिक कारबाहीसम्बन्धी सूचनाको अधिकार, क्षतिपूर्ति तथा सामाजिक पुनःस्थापनाको अधिकार, दण्डहिनताको अवस्था सिर्जना हुन नदिन तथा पीडित न्याय प्रणाली कायम राख्न सम्पर्क गरी पीडितलाई कानुनबमोजिम सहयोग गर्न आवश्यक देखिएको एसपी जिसीको भनाइ छ ।
इलाका प्रहरी कार्यालय रानी, रङ्गेली, सिजुवा, उर्लाबारी, पथरी, लेटाङ र बेलबारीसमेतले पीडित पुनः भेटघाट कार्यक्रमको सुरुवात गरेको र पीडितहरूले प्रहरी घरमै आएर प्रत्यक्ष भेटघाट गरी कानुनी परामर्श, प्रकृयाको जानकारी र पीडकलाई कानुनी कारबाही सम्बन्धमा जानकारी गराउँदा पीडितहरूले खुसी व्यक्त गरेको एसपी जिसीको भनाइ छ ।