विराटनगर । विराटनगरमा आकाशे पुल निर्माणमा नेताहरूले नै अवरोध गरेका छन् । विराटनगर उपमहानगरपालिकाले निर्माण गर्न लागेको आकाशे पुलमा राजनीतिक दलका स्थानीय नेताले अवरोध गरेका छन् ।

यातायातको चाप बढ्न थालेपछि महानगरले आकाशे पुलको अवधारणा ल्याएको थियो । महानगरले तीन स्थानमा पुल निर्माणका लागि चैत २ गते तीन स्थानका आकाशे पुलको एकैपटक शिलान्यास गरिएको थियो । महानगरका प्रमुख भीम पराजुलीले शिलान्यास गर्दै अब नागरिकका लागि सहज हुने बताएका थिए ।

६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि अहिले स्थानीय नेता तथा स्थानीयवासीको अवरोधका कारण काम अगाडि बढ्न सकेको छैन । महानगरले दुई करोड ४७ लाखमा कञ्चनबारी, बरगाछी र घाँस चोकमा पुल बनाउन लागेको हो । तीन ठाउँका लागि २०७७ चैत २५ गते सम्झौता भएपछि शिलान्यास गरिएको थियो ।

कञ्चनबारीमा निर्माण हुन लागेको आकाशे पुलको लागत ९९ लाख १४ हजार ४३ रुपैयाँ रहेको छ । यसको ठेक्का आरके जेभीले पाएको छ । यस्तै बरगाछीमा कला बिल्डर्सले ७५ लाख ८४ हजार २ सय ९ रुपैयाँमा ठेक्का पाएको छ भने रोडशेषमा बन्ने आकासे पुलको लागत १ करोड ४ लाख ३१ हजार ५ सय ११ रुपैयाँ रहेको छ । यसको ठेक्का कला बिल्डर्सले पाएको छ ।

दुर्घटना न्यूनीकरण र नागरिकलाई आवतजावतमा सहजता ल्याउन आकाशे पुलको अवधारणा ल्याइएको हो । सुरुमा बसपार्कमा पुल बनाउने योजना भए पनि प्रदेश सरकारले घाँस चोकमा पुल बनाउन जोड दिएको थियो तर त्यहाँ पनि विवाद भएपछि रोडशेष चोक नजिकै सारिएको छ । रोडशेष चोक नजिकै जग निर्माणका लागि महानगरले ६ लेन सडकको नाला भत्काएको छ तर जग्गा धनीले रोकिदिएपछि काम अगि बढेको छैन ।

विराटनगर महानगरपालिकाका इञ्जिनियर अर्जुन थापाका अनुसार स्टिल स्ट्रक्चरमा निर्माण हुने पुलको जग मात्रै कङ्क्रिट (सिमेन्ट) को हुनेछ । ठेकेदार कम्पनीले जगदेखि माथि प्रयोग हुने स्टिल संरचना तयार गरिसकेको छ । तर काम सुरु नहुँदा कोशी प्रोजेक्ट चोक नजिकै निर्माण सामग्री थन्किएको छ ।

जग हाल्न सुरु गरे पुल तयार गर्न महिना दिन पनि नलाग्ने उनले बताए । विराटनगर महानगरपालिकाका प्रमुख पराजुलीका अनुसार कञ्चनबारीमा काङ्ग्रेसका प्रदेश सांसद चुमनारायण तबदारसहितले आफ्नो घरअघि पुल बनाउन नदिने भन्दै काम अघि बढाउन दिएका छैनन् । उनीहरूले महानगरमा लिखित निवेदन समेत दिएका छन् ।

रोडशेष चोकनजिकै काङ्ग्रेस मोरङ सचिव नागेश कोइरालाले आफ्नो जग्गाअगाडि बनाउन नदिने भन्दै अवरोध गरेका छन् । कोइरालाले नमानेपछि जग खनेर छाडिएको छ । बरगाछीमा पनि पुल नजिक पर्ने घरधनीले रोकेका छन् । सबैतिर अवरोध भएपछि काम अगि नबढाएको उनले बताए ।

‘पुल सबैलाई चाहिएको छ, तर मेरो घरअगि होइन भन्नुहुन्छ,’ प्रमुख पराजुलीले भने । पुल निर्माण सुरु गर्न सबैसँग छलफल गर्ने उनले बताए । रोडशेष चोक नजिकै रहेको पुलको प्रभावकारिता नहुने कुरा आएकाले अन्यत्र सार्न सकिने जनाइएको छ ।