यासोक । पाँचथरको तुम्बेवा गाउँपालिका–१ मा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सव–स्टेशनको काम कछुवाको गतिमा अघि बढेको छ ।

नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा ३३ केभिएको सव– स्टेशनको काम सुस्त गतिमा अघि बढेको हो । प्राधिकरणको सामुदायिक ग्रामीण विद्युतीकरण विभागले योजनाको काम गर्दै आएको छ । सव–स्टेशन निर्माणको लागि निवर्तमान भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्वाङले २०७७ मङ्सिर ९ गते योजनाको शिलान्यास गरेका थिए ।

सरकारले १४ करोड ७ लाख १८ हजारमा वाइबा इन्फ्राटेक प्रालि काठमाडौंलाई ठेक्का दिएको थियो । ठेक्का पाएको निर्माण कम्पनीले दुई वर्षभित्र योजना पूरा गर्ने गरी सम्झौता गरेको थियो भने सम्झौता अवधि २०७८ सालको जेठमा सकिएको छ । कोभिड १९ को असर र निरन्तर वर्षाका कारण काम ढिला भएको निर्माण कम्पनीका योजना प्रमुख खगेन्द्र बोहोराले बताए ।

सम्झौता अवधिमा काम पूरा नभएपछि पुनः ६ महिनाको म्याद थप गरिएको छ । थपिएको ६ महिना अवधिभित्रै पूरा गर्ने गरी काम भइरहेको बोहोरा बताउँछन् ।

‘सव–स्टेशनमा दुईवटा भवन र थापाटारदेखि सव–स्टेशनसम्मको ३३ केभिए विद्युत् विस्तार गर्न पोलिङको काम अन्तिम चरणमा पुगेको छ’ उनले भने, ‘निर्माण स्थलसम्म उपकरण ढुवानी गर्न वर्षाको कारण समस्या छ । मौसममा सुधार हुनासाथ योजनाले गति लिन्छ ।’

योजनाको हालसम्मको भौतिक प्रगति ५० र वित्तीय प्रगति ४५ प्रतिशत भएको कम्पनीको भनाइ छ । दक्ष जनशक्ति परिचालन गरी आगामी पुषमा योजना हस्तान्तरण गर्ने निर्माण कम्पनीले बताएको छ ।

तुम्बेवा गाउँपालिकाका अध्यक्ष होमनाथ थापाका अनुसार सम्झौता अवधिमा योजना सम्पन्न नभएपछि थपिएको ६ महिनाभित्र योजना पूरा गर्न मुस्किल पर्छ । योजनाले जुन गति लिनुपथ्र्यो, त्यो नलिएका कारण योजनालाई पूर्णता दिन ढिला हुने थापाको भनाइ छ । 

सव–स्टेशन निर्माणपछि जिल्लाको कुम्मायक, तुम्बेवा, मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिकाका नागरिक लाभाम्वित हुनेछन् । योजना निर्माणको लागि स्थानीय सहमान कार्कीले १६ लाख मूल्य बराबरको १० रोपनी जग्गासमेत निःशुल्क प्रदान गरेका थिए ।