सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङमा निःशब्द बनाउने घटना घटेको छ । आङ नै सिरिङ्ग पार्ने खालको घटना पटक–पटक दोहोरिन थालेको छ । एकै परिवारका ६ जनाको हत्या कसले, किन ग¥यो गाउँलेले सोच्न सकेका छैनन् भने प्रहरीले पनि यस घटनाको ‘क्लू’ भेट्टाउन सकेको छैन । अनुसन्धानमा प्रदेश १ प्रहरी कार्यालय, सङ्घीय प्रहरी कार्यालय धरान र स्थानीय प्रहरी जुटेका छन् । तालिमप्राप्त कुकुर लगेर अनुसन्धान थालिएको छ । घटनामा ८५ वर्ष भनिएका कान पनि कम सुन्ने र मधुरो आँखा देख्न सक्ने व्यक्ति बौद्धमान कार्की मात्रै जीवित भेटिएका छन् । घटनाबारे उनले पनि थाहा नपाएको प्रतिक्रिया दिएका छन् । यस्तै प्रकृतिको घटना दुई वर्षअगि २०७६ जेठ ६ गते राति पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पनि भएको थियो । त्यहाँ दुई परिवारका ९ जना सदस्यको हत्या गरिएको थियो । निर्मम तरिकाले गरिएको उक्त हत्याले देशविदेशसम्म चर्चा पाएको थियो । यस्तै प्रकृतिको घटना फेरि हुनुले अपराधलाई फरक कोणबाट हेर्नुपर्ने र व्याख्या हुनुपर्ने देखिन थालेको छ ।

यस घटनामा अपराधीको मनोविज्ञान के हो ? कुन उद्देश्यले एकै परिवारका ६ जना सदस्यको हत्या गरियो ? घटनामा वयोवृद्धलाई चाहिँ किन छाडियो ? यस्ता थुप्रै जिज्ञासाहरू अहिले गाउँले, जनप्रतिनिधि तथा अनुसन्धानमा खटिएका प्रहरीलाई लाग्दो हो । घटना हुनुमा आपराधिक मनोवृत्तिले काम गरेको देखिन्छ । जसलाई कानूनी भाषामा ‘मिन्स रिया’ भनेर व्याख्या गरिएको छ अर्थात् अपराध कर्म गर्नेको ‘नियोजित रूपमै अपराध गर्ने सोच’ । यो अपराधमा पनि यस्तै प्रकृति देखिन्छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा कतिपयलाई खेदाई खेदाई पनि हत्या गरेको देखिन्छ । धारिलो वस्तुले प्रहार गरी मारेको देखिन्छ । सामान्य परिवारका सदस्यहरूमाथि यस्तो ‘रिसइबी’ साध्नु पर्ने कारण के हुनसक्छ ? प्रहरीले यस कोणबाट पनि अनुसन्धानलाई अगाडि बढाएको छ । प्रहरीले विभिन्न कोणबाट अनुसन्धानलाई अगाडि बढाउनुपर्ने आवश्यकता पनि छ । किनकि सोचेजस्तो सहज तरिकाबाट यो घटना भएको छैन । पाँचथरको मिक्लाजुङमा जुन घटना भयो, त्यसमा संलग्न अपराधी पनि झुण्डिएको अवस्थामा फेला परेका थिए तर, यो घटना त्योभन्दा विल्कुल फरक छ । अपराधी यो हदसम्म पुग्नु कहीँ न कहीँ उसको मनोविज्ञानमा अपराध मात्रै बसेको हुन सक्छ ।

यस घटनाको अनुसन्धान चाँडोभन्दा चाँडो टुङ्ग्याउन सकिएन भने गाउँलेमा थप डर उत्पन्न भइरहनेछ । किनकि समाजमा कुनै रिसइबी, झै–झगडा नभएका परिवार आज यस्तो अवस्थामा भेटिनुले गम्भीर प्रश्न खडा गरेको छ । यो प्रश्नको हल प्रहरीले मात्रै गर्न सक्छ । किनकि अनुसन्धान गर्ने अधिकार उसलाई मात्रै छ । प्रहरी जुन रूपमा सक्रिय छ, उनीहरूलाई गाउँलेहरूले पनि भरपूर सहयोग गर्नुपर्छ । सानोभन्दा सानो सूचनाले प्रहरीका लागि ठूलो महŒव राख्छ । आम मानिसका लागि सामान्य लाग्ने सूचना प्रहरीका लागि ठूला हुन सक्छन् । सूक्ष्म अनुसन्धानका लागि महŒवपूर्ण हुन सक्छ । त्यसैले गाउँलेहरूले पनि अनुसन्धानका लागि प्रहरीलाई सहयोग गर्नुपर्छ । प्रहरीले पनि गाउँलेहरूको सहयोगविना यो अनुसन्धानलाई टुङ्ग्याउन सक्दैन । त्यसैले एक–अर्काका परिपूरक भएर यो घटनाको चुरोमा पुग्न सक्नुपर्छ । आम मानिसको डर हराउने वातावरण तयार गर्न प्रहरीको अनुसन्धान मात्रै विकल्प हुनसक्छ । त्यसतर्फ प्रहरीको ध्यान जाओस् ।