धरान । धरानको धार्मिक पर्यटकीयस्थलका रूपमा चिनिने विजयपुरमा एक वर्षअगि नै निर्माण हुनुपर्ने सडक तोकिएको समयमा सम्पन्न नहुँदा पर्यटक तथा तीर्थयात्रीलाई सास्ती हुने गरेको छ ।
धरान उपमहानगरपालिकाको नगर गौरव योजना अन्तर्गतको धरान–१४ विजयपुरदेखि बूढासुब्बा मन्दिरसम्म जाने ४ सय मिटर सडकमा अहिले माटो खनेर थुपारिएको छ । सडक भत्काइएका कारण यातायातका साधन अन्यत्रैबाट घुमाउनु पर्ने अवस्था छ भने यात्रीहरू हिँड्नसमेत अप्ठ्यारो भएको छ ।
आर्थिक वर्ष ०७७/७८ मै निर्माण भइसक्नु पर्ने सडकको निर्माण कार्य केही हप्ताअगि मात्र सुरु भएको छ । उपमहानगरपालिकाले सडक तथा ढल निर्माण कार्यका लागि २ करोड १७ लाख ८४ हजार ४ सय ३० रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोही अनुसार बूढासुब्बा पथ, धरान–१४ को सडक तथा ढल निर्माण कार्यका लागि २०७६ फागुन २५ गते सम्झौता भएको थियो ।
सो सम्झौतामा सडकको निर्माण कार्य २०७७ माघसम्ममा सक्ने उल्लेख भए पनि भर्खर मात्र निर्माण कार्य सुरु भएको छ । धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले एडिबीको पाइपलाइन गाड्दा स्थानीयले विरोध गरेकाले सडक निर्माण कार्यमा ढिलाइ भएको बताए ।
धरान उपमहानगरपालिकाका इञ्जिनियर सौहार्द्र श्रेष्ठ भने सडक निर्माणको ६० प्रतिशत काम पूरा भएको बताउँदै आउँदो असोज मसान्तसम्ममा निर्माण सम्पन्न हुने दाबी गर्छन् । इञ्जिनियर श्रेष्ठका अनुसार हाल खानेपानीको पाइप विस्तार गर्ने कार्य भइरहेको छ । पानीको पाइपलाइन व्यवस्थित गर्नासाथ सडकमा ग्रावेलको काम सुरु हुन्छ ।
स्थानीयले जग्गा नदिएका कारण पनि सडक निर्माण कार्यमा ढिलाइ भएको छ । निर्माण सम्पन्न हुनुपर्ने मितिमा नसकिने भएपछि पहिला नै ६ महिनाको म्याद थप गरिएको थियो । अब पनि निर्माण कार्य समयमै सम्पन्न गर्न नसक्ने अवस्था आएमा पुनः एक पटक म्याद थप हुन सक्ने आशिर्वाद निर्माण सेवा कम्पनीका प्रोप्राइटर केशरकुमार बुढाथोकीले बताए ।
कुनै पनि योजना समयमा नै पूरा नहुनु दुर्भाग्य भएको बताउँदै स्थानीय प्रेम पराजुलीले भने, ‘धार्मिक क्षेत्रमा तीव्र गतिमा सडक निर्माण हुनुपर्ने हो तर, निर्माण कार्यमा पूरै ढिलासुस्ती देखिन्छ ।’ सडक निर्माण सुरु भएपछि स्थानीयहरू खुसी भएको बताउँदै उनले निर्माण कार्य छिटोसँगै टिकाउ पनि हुनुपर्ने बताए ।