सहज रूपमा स्वास्थ्य सेवा पाउनु आम नागरिकको अधिकार हो । नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था छ । तर, देशकै ठूलो स्वास्थ्य संस्थाका रूपमा चिनिने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने आम नागरिकको उपचार गर्न भनेर जागिर खाइरहेका स्वास्थ्यकर्मीहरू नै बन्द हड्तालमा उत्रिने गरेका छन् । पछिल्लो समय प्रतिष्ठानको शुद्धीकरणका नाममा प्रतिष्ठानका चिकित्सक, कर्मचारी, नर्स र विद्यार्थीहरू आन्दोलित छन् । सुरुमा पदाधिकारीहरूको कार्यकक्षमा तालाबन्दी गरेर आन्दोलित उनीहरूले केही दिनयता प्रतिष्ठानको उपचार सेवा नै बन्द गराएर आन्दोलन गरिरहेका छन् । आफ्ना माग पूरा गराउने नाममा आम नागरिकको स्वास्थ्यसम्बन्धी हक खोस्ने अधिकार कसैलाई छैन । त्यसअर्थमा यो एउटा अराजकता बाहेक केही होइन ।

प्रतिष्ठानमा उपचार सेवा ठप्प भएपछि केही राजनीतिक दलका स्थानीय नेता कार्यकर्ताले विरोध जनाए । त्यो स्वभाविकै हो तर, उनीहरू भौतिक आक्रमणमा उत्रिएर तोडफोड गर्नु अर्को अराजकता हो । बिरामीहरूलाई उपचार सेवाबाट बञ्चित गरिनु हुँदैन भनेर आवाज उठाउनु सकारात्मक हो तर, राजनीतिक दलहरू पदाधिकारीको कार्यकक्षमा लगाइएको तालाबन्दी खोल्नमा केन्द्रित हुनु र त्यसैका लागि तोडफोड गर्नु अराजकता हो । बरु उनीहरूले स्वास्थ्य सेवा बन्द गर्नेहरूलाई सचेत गराउने, पदाधिकारीहरूसँग छलफल गरेर उपचार सेवा सुचारु गराउनेमा ध्यान दिनु पर्ने थियो । तर, यो आम सरोकारको विषयमा भन्दा उनीहरूको चासो पदाधिकारीको कार्यकक्षमा लागेका ताला खोल्नुमा देखियो । यसबाट प्रतिष्ठानमा समस्या समाधानका लागि भन्दा पनि राजनीतिक फाइदाका लागि हानाथाप भइरहेको प्रष्ट बुझिन्छ । यसले समस्याको समाधान होइन, झन् चर्काउने निश्चित छ ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ ले स्वास्थ्य संस्थामा कुनै किसिमको तोडफोड गर्न वा हानि पु¥याउन निषेध गरेको छ । त्यसैगरी स्वास्थ्य संस्थामा उपचार गर्न आएका वा उपचाररत बिरामीहरूको उपचार गर्ने कार्यमा कुनै किसिमको बाधा पु¥याउन नहुने व्यवस्था गरेको छ । यस्ता गतिविधि गर्नेलाई पाँच वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिबानाको व्यवस्थासमेत छ । यो व्यवस्थाअनुसार तोडफोड गर्ने राजनीतिक दल र उपचारमा बाधा पु¥याउने चिकित्सक, कर्मचारी वा विद्यार्थीसमेत कारबाहीको दायरामा पर्न सक्छन् ।

आन्दोलनका नाममा उपचार सेवा बन्द गर्ने चिकित्सक, विद्यार्थी र कर्मचारीहरूको अराजक कार्य र उक्त आन्दोलनको विरोधका नाममा तोडफोड गर्ने जस्तो राजनीतिक दलहरूको अराजक कार्य दुवै गलत हुन् । यस्ता क्रियाकलाप तुरुन्त बन्द गरिनुपर्छ । यस्तै अराजक हर्कतका कारण बीपी प्रतिष्ठान दिनदिनै धरासायी बन्दै गएको हो । त्यसको फाइदा निजी अस्पतालहरूले उठाइरहेका छन् । के प्रतिष्ठानका चिकित्सक, कर्मचारी, विद्यार्थीदेखि धरानका राजनीतिक दलहरूको चाहना बीपीलाई ध्वस्त बनाएर बाहिरका मेडिकल माफियालाई धनी बनाउने हो ? यदि होइन भने आफ्ना समस्याहरूका शान्तिपूर्ण तरिकाबाट समाधानको खोजी गर्नुपर्छ । आफ्ना माग पूरा गराउने नाममा आम नागरिकको स्वास्थ्यमाथि खेलवाड गरिनु हुन्न । राजनीतिक दलहरूले पनि कुनै पदाधिकारीलाई बचाउन वा उसका कमी कमजोरी ढाकछोप गर्न अराजक गतिविधि गर्नु हुँदैन । यसले बीपी प्रतिष्ठानको झनै बदनामी गरेको छ । यसको प्रत्यक्ष असर धरानको विकासमा समेत पर्नेछ । त्यसकारण कसैले पनि कुनै पनि बहानामा बीपी प्रतिष्ठानमा अराजक गतिविधि बन्द गरौं ।