वराहक्षेत्र २ बयरवन सिंहदेवीका स्थानीयले वडाध्यक्षलाई बाटो हिलाम्मे भएको गुनासो गरे । बाटो मर्मत गर्ने बजेट नभएको भन्दै वडाध्यक्ष पन्छिए । 

‘हिलो बाटो भएपछि अब धान रोप्न त बाँकी भयो नि, कि धान रोपिदिऊँ वडाध्यक्षज्यू ?’ स्थानीय सञ्चारकर्मी हिमाल राईले आफ्नो घर अघिको बाटो हिंड्नै नसक्ने भएपछि वडाध्यक्षलाई चुनौती पनि दिए । वडाध्यक्षले कुरो हाँसोमा उडाइदिए । उनले ‘मेयरलाई भनौंला’ भन्ने ओठे जवाफ दिए । 

बजेट अभाव भएको बहाना बनाउँदै जनप्रतिनिधिले लत्तो छाडेको स्थानीय सुशील अर्यालले आरोप लगाए । बारम्बार सडक मर्मत गर्न अनुरोध गर्दा पनि ‘ठाडो कान नलगाएको’ उनले आरोप लगाए । 

‘विकासको गीत गाउन नछाड्ने जनप्रतिनिधिले फिल्डमा आएर काम गर्नुपर्यो नि,’ स्थानीय कुमार कार्कीले भने, ‘अब भोट पाउने आशा मरेछ कि के हो, अट्टेरी भइरहेका छन् जनप्रतिनिधि, जनताको चासै छैन, के देखाउने हो, यिनीहरुले ?’

सञ्चारकर्मी राईसँगै स्थानीय सुशील अर्याल, कुमार कार्की, भीम बिक, भगवती खड्का, इन्द्रदेव पण्डितलगायतले आफैं जिम्मेवारी लिँदै सडक मर्मत सम्भार गरेका छन् । उनीहरुको सामूहिक पहलमा सडकमा गिट्टी बिछ्याउने काम भएको छ । 

स्थानीय सुनिल मगरले पछि तिर्ने गरी ३० हजारको गिट्टी सडकमा खसाइदिएका छन् । ‘जम्मा ३६ हजार तिर्ने हिसाब भएको छ,’ अगुवा भीम बिकले भने, ‘सबै गाउँलेसँग उठाएर तिर्ने भनेका छौं ।’

गिट्टी ६ हजार रुपैयाँ प्रतिटिप्पर ल्याएको स्थानीय भगवती खड्काले बताइन् । ‘नेताले कानमा तेल हालेपछि घर अगाडिको बाटो हो आफैं बनाउनु पर्यो भनेर लागि परेका हौं,’ खड्काले भनिन्, ‘यिनीहरुको बाटो हेर्यो भने अर्को बर्खामा पनि बाटो बन्ला नबन्ला ।’

सुनसरीकाे वराहक्षेत्र नगरपालिका धार्मिक पर्यटकीय स्थल हाे । पर्यटकीय क्षेत्रसम्म पुग्ने सहायक सडक, ग्राभेल सडकहरू वर्षाका कारण जीर्ण भएका छन् । बजेट अभावका भएकाे बहानामा  नगरपालिकाले  सडककाे स्तराेन्नति गरेकाे छैन ।