अफगानिस्तानका भूतपूर्व राष्ट्रपति हमिद कार्जाई र राष्ट्रिय पुनः मिलन उच्च परिषद्का प्रमुख अब्दुल्ला अब्दुल्लाहलाई नजरबन्दमा राखेको अमेरिकी समाचार संस्था सीएनएनले बताएको छ ।

बिहीबार प्रशारित एक कार्यक्रममा कार्जाइ र अब्दुल्लाह अब्दुल्लाहलाई सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलगायतको सहयोगी समूहबाट अलग गरी तालिबान समूहले काबुलस्थित उनीहरूको घरमा ‘नजरबन्द’ मा राखेको बताइएको छ । 

तालिबान समूहको ‘दयामा भरोसा गरिरहेका’ ती राजनीतिज्ञहरूको गाडी पनि जफत गरेको बताइएको छ ।  तालिवान बुधबार अब्दुल्लाहको घरमा पुगेका रिपोर्टहरू सार्बजनिक भएका छन् । 

काबुललाई आफ्नो  कब्जामा लिएदेखि तालिबानले अफगानिस्तानमा समावेशी सरकार गठन गर्ने प्रतिज्ञा गरेका छन् । यस समूहले पूर्व राष्ट्रपति कार्जाई र पूर्व मुख्य कार्यकारी अब्दुल्लाहसँग वार्ता गरेका बताइएको छ । तालिबानको अनपेक्षित आक्रमणपश्चात् यी दुई अधिकारीहरू काबुलमा रहँदै आएका पनि बताइएको छ । 

गत हप्ता अब्दुल्लाह अब्दुल्लाह र कार्जाईले काबुलका ‘तथाकथित’ कार्यकारी तालिबान गभर्नर अब्दुल रहमान मानसौरलाई भेटका थिए ।

उनीहरूले काबुल नागरिकको जीवन, सम्पत्ति र गरिमारक्षाको प्राथमिकताका विषयमा छलफल गरेका थिए । उक्त अवसरमा अब्दुल्लाहले तालिबानका कार्यवाहक काबुल गभर्नरसँग राजधानी काबुलमा सामान्य अवस्थामा बसोबास गर्न सुरक्षित महसुस गर्ने वातावरणको सिर्जना गर्न आग्रह गरेका थिए । 

तालिवान नेतासँगको भेटपछि अब्दुल्लाहले तालिबानले समावेशी सरकार बनाउने विश्वास व्यक्त गरेका थिए । यस महिनाको सुरुतिर संयुक्त सरकारका लागि अन्तर्राष्ट्रिय दवावपछि तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले ‘सबै पक्ष समावेश भएको’ सरकार स्थापना गर्ने प्रतिज्ञा गरेका थिए ।