विराटनगर / उच्च अदालत विराटनगरले आर्थिक वर्षमा देशभरीमा सबैभन्दा बढी मुद्दा फछर्यौट गरेर अगाडी रहेकोे छ । 

आर्थिक वर्ष २०७७/०७८ मा देशभरीमा सबैभन्दा बढी मुद्दा फछर्यौट गर्ने न्यायाधीश पनि उच्च अदालत विराटनगरको रहेको पाइएको हो । आर्थिक वर्षमा उच्च अदालत विराटनगरले ५८ प्रतिशत मुद्दा फछर्यौट गरेर देशभरीमा अगाडी रहेको उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिल प्रसाद श्रेष्ठले जानकारी दिए ।

आर्थिक वर्ष २०७७/०७८ मा ३ हजार १ सय ८१ वटा मुद्दा फछर्यौट गर्ने लक्ष्य लिएकोमा २ हजार १ सय ८ वटा अर्थात ५८ प्रतिशत मात्र मुद्दा फछर्यौट गरेको हो । महामारीको रूपमा फैलिएको कोभिड १९ को कारणले करिब ४ महिना मुद्दा फछर्यौटको कार्य हुन नसकेकोले लक्ष्य अनुसार मुद्दा फछर्यौट गर्न नसकिएको न्यायाधीश श्रेष्ठले जानकारी दिए ।  

आर्थिक वर्षमा ३ हजार ६ सय ६१ वटा मुद्दा दर्ता भएका मध्ये २ हजार १ सय ८ वटा फछर्यौट भएको छ भने १ हजार ५ सय ५३ वटा मुद्दा बाँकी रहेको उनले जानकारी दिए । आर्थिक वर्षमा १ हजार ६ सय ७० वटा मुद्दा अघिल्लो आर्थिक वर्षदेखि जिम्मेवारी सरेर आएको थियो । आर्थिक वर्षमा २ हजार १ सय ८ वटा मुद्दा फछर्यौट भएको मध्ये ६ महिना भित्रका ६ सय ७४ अर्थात ३२ प्रतिशत फछर्यौट भएका छन् ।

यस्तै ६ महिनादेखि १ वर्षभित्रका ४६० अर्थात २२ प्रशित, १ वर्षदेखि १८ महिना भित्रका ४ सय ७१ वटा, १८ महिनादेखि २ वर्षभित्रका ३ सय ७ वटा मुद्दा फछर्यौट भएको मुख्य न्यायाधीश श्रेष्ठले जानकारी दिए ।

देशभरीमा ८ वटा उच्च अदालत मध्ये सबैभन्दा बढी आर्थिक वर्र्षमा उच्च अदालत विराटनगरले सबैभन्दा बढी मुद्दा फछर्यौट गरेको देखिएको छ । आर्थिक वर्षमा उच्च अदालत पाटनले ४५, जनकपुरले ४४, वीरगञ्जले ४६, बुटवलले ५०, नेपालगञ्जले ५०, पोखरा उच्च अदालतले ५३ मुद्दा फछर्यौट गरेको छ । 

आर्थिक वर्षमा देशभरीका उच्च अदालतका न्यायाधीहरू मध्ये सबैभन्दा बढी पनि विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश तिल प्रसाद श्रेष्ठले सबैभन्दा बढी मुद्दा फछर्यौट गरेको सर्वोच्च अदालतको अभिखेलमा देखिन्छ । जसमा श्रेष्ठले आर्थिक वर्षमा ७ सय ३ तीन वटा मुद्दा फछर्यौट गरेर न्याय सम्पादनमा पहिलो न्यायाधीश बनेका छन् । न्याय सम्पादनमा दोस्रो भएका न्यायाधीश कुल प्रसाद शर्माले ६५४ वटा मुद्दा फछर्यौट गरेका छन् । 

उच्च अदालत विराटनगरले दुई वर्ष नाघेका एउटा पनि मुद्दा बाँकी राखेको छैन । दर्ता भएको दुई वर्ष भित्रका सम्पूर्ण मुद्दा फछर्यौट गर्दै आएको छ । ‘दुई वर्षे मुद्दा शुन्यमा ल्याउने कुरामा प्रथम हुन सक्यौ र अहिलेसम्मको विराटनगरको इतिहासमा एतिहासिक रेकर्ड कायम गर्न सक्यौं,’ मुख्य न्यायाधीश श्रेष्ले भने । उनले योजनाबद्ध ढंगले छिटो, छरितो र गुणस्तरीय न्याय सम्पादन गरेको पनि बताए ।