धरान । क्रिस्टियानो रोनाल्डोलाई इंङ्लिस क्लब म्यानचेस्टर सिटीले क्लबमा ल्याउने इच्छा जाहेर गरेको छ । उसले फ्रि ट्रान्सफरमार्फत ल्याउने इच्छा जाहेर गरेको हो । 

३६ वर्षीय रोनाल्डो अहिले इटाली क्लब युभेन्टसबाट व्यवसायिक फुटबल खेलिरहेका छन् । उनले यस बीचमा क्लब छाड्ने सम्भावना देखाएका थिए । उनी पुनः रियल मड्रिड, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा जाने इच्छा देखाएका थिए । तर, हालै पिएसजीमा अर्का स्टार लियोनल मेसीलाई दुई वर्षको सम्झौता गरिसकेका कारण रोनाल्डोको जाने सम्भावना न्यून भएर गएको छ । 

पिएजसीका युवा खेलाडी केलियन एम्बापे रियलमा गएको अवस्थामा भने जाने सम्भावना छ तर अहिलेसम्म पिएसजीले रोनाल्डोलाई ल्याउने इच्छा देखाएको छैन । हालै विदेशी सञ्चारमाध्यमका अनुसार पेप ग्वार्डिवालोको क्लब म्यानचेस्टर सिटीले भने इच्छा देखाएको हो । यता युभेन्टसले एक सिजनका लागि रोनाल्डोलाई २५ मिलियन युरो तिर्नुपर्ने जनाएको छ । 

सिटीले भने स्वतन्त्र स्थानान्तरण (फ्रि ट्रान्सफर) मा लाने तीव्र इच्छा देखाए पनि उसले रोनाल्डोका लागि १५ मिलियन युरो तिर्न तयार रहेको इटालीबाट प्रकाशित स्काइ स्पोर्टस् डटकमले जनाएको छ । रोनाल्डो पनि युभेन्टस छाड्ने सोचमा छन् । युभेन्टसमा उनको सम्झौता अझै एक वर्ष बाँकी रहेको छ । सन् २०२२ जुनसम्म उनको सम्झौता रहेको छ । त्यसपछि मात्रै उनी स्वतन्त्र हुनेछन् । त्यतिबेला रोनाल्डोको उमेर ३७ वर्ष पूरा भइसकेको हुनेछ । 

खेल जीवनको अन्तिम समयमा रहेका उनी सन् २००३ बाट व्यवसायिक फुटबल सुरु गरेका थिए । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट व्यवसायिक खेल जीवन सुरु गरेका उनले २९२ खेलमा ११८ गोल गरेका थिए । सन् २००९ सम्म उक्त क्लबमा रहेका उनी त्यसपश्चात् स्पेनी क्लब रियलमा गएका थिए । सन् २०१८ मा उनी युभेन्टसमा आवद्ध भएका हुन् । रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेज पनि २५ मिलियन युरो दिएको खण्डमा भने स्थानान्तरण गर्ने पक्षमा देखिएका छन् ।