आगामी महिना हुने संसदीय निर्वाचनअगाडि समर्थन जुटाउन पेन्सन प्राप्त व्यक्तिले १३५ अमेरिकी डलर बराबर नगद पाउने गरी एउटा आदेशमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार हस्ताक्षर गरेका छन् । यसले पछिल्लो समय रूसको सत्तारुढ यूनाइटेड रसिया पार्टीको राजनीतिक अवस्था निर्वाचनमा संघर्षपूर्ण रहेको बुझ्न सकिने पुटिनका आलोचकहरूको भनाइ छ । 

यो नगद वितरण सामाजिक खर्चको एक भागको रुपमा आउने र यसको भड्ताल राज्यकोषबाट आफ्नो पक्षमा निर्वाचन परिणाम पार्न राष्ट्रपति पुटिनले ल्याएको योजनाका रूपमा अथ्र्याइएको छ । 

रूसी नेता पुटिनले सेप्टेम्बरमा तल्लो सदन ‘स्टेट डुमा’ को निर्वाचन अगाडि यो योजना प्रस्ताव गर्नुभएको हो । रूसमा सामानहरूमा बढ्दो मूल्य र घट्दो रोजगारीका कारण पुटिनको दल युनाइटेड रसियाको ख्यातिमा निकै कमी आएको छ । 

रूसी राष्ट्रपतिले सेप्टेम्बर महिनामा १० हजार रूबल (१३५ अमेरिकी डलर) भुक्तानी गर्ने आदेशमा हस्ताक्षर गरिसकेको रूसी प्रशासन केन्द्र क्रेमलिनले पुष्टि गरेको छ । यसले मासिक पेन्सनलाई दोब्बर बनाएको छ । 

आइतबार युनाइटेड रसियाका अधिकारीहरुसँगको भेटमा पुटिनले यस वर्षको बढ्दो मुद्रास्फीतिका कारण पेन्सनरहरुलाई सबैभन्दा बढी असर परेको बताएका थिए । 

केन्द्रीय बैंकका अनुसार वार्षिक मुद्रास्फीति ६.५ प्रतिशत पुगेको छ । बैंकले जूनमा आफ्नो आधारभूत ब्याज दर सोही आँकडमा बढाएको थियो । यो सन् २०१४ को मुद्रा सङ्कट पछिको सबैभन्दा ठूलो वृद्धि हो ।

पुटिनले सैन्य कर्मचारीहरूलाई १५ हजार रूबल बोनस दिने प्रस्ताव गरिएको एक अर्को आदेशमा आइतबार हस्ताक्षर गरेका थिए ।  

रूसी नेता पुटिनले सडक मर्मत, सार्वजनिक यातायात र आधारभूत संरचना तथा स्वास्थ्य सेवा विकास गर्न अरबौं खर्च गर्ने एक महिना पहिले बताउनुभएको थियो । सरकारले अवकाशको उमेर हद बढाएको विवादास्पद पेन्सन सुधार योजना पारित गरेपछि सन् २०१८ मा युनाइटेड रसियाको ख्याति दरमा तीव्र कमी आउन थालेको थियो ।