अफगानिस्तानमा तालिबानी विरोधी फौजले नयाँ चुनौती खडा गरेको छ । सरकार निर्माणका लागि तयारी गरिरहेको तालिबानलाई पंजशीरका लडाकाले चुनौती दिएका छन् । एकातिर पंजशीरमा दुई पक्षको प्रतिस्पर्धा चलिरहेको छ भने अर्कातिर बगलान प्रान्तमा तालिबानमाथि ठूलो झड्का आइपरेको छ । भारतीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार बगलान प्रान्तमा भएको एउटा हमलामा ३०० तालिबानी मारिएका छन् । कयौंलाई नियन्त्रणमा लिइएको छ ।

बिबिसीकी पत्रकार यालदा हकीमले ट्वीट गर्दै भनेकी छन्– बगलानस्थित अन्द्राबमा लुकिछिपी तालिबानीमाथि यो ठूलो आक्रमण भएको छ । आक्रमणमा तालिबानलाई ठूलो नोक्सान भएको छ । तालिबान विरोधी लडाकाले ३०० तालिबानी मारेको दाबी गरेका छन् । खबरका अनुसार कयौं तालिबानीलाई नियन्त्रणमा लिइएको छ ।  

अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सालेहले पनि यो आक्रमणतर्फ इशारा गरेका छन् । एक ट्वीटमार्फत् भनेका छन्– जबदेखि तालबानीमाथि ठूलो आक्रमण भएको छ, उसको लागि एक टुक्रामा जीवित फर्कन पनि चुनौती थियो, तालिबानले पंजशीरमा आफ्ना लडाकुको संख्या वृद्धि गरेको छ ।

यति ठूलो आक्रमणपछि तालिबान शान्त नबस्ने सञ्चारमाध्यमले विश्लेषण गरेका छन् । तालिबानी नेताले पंजशीर कब्जा गर्नका लागि ठूलो फौज त्यसतर्फ पठाएको बताइसकेका छन् । तालिबान त्यहाँ निकै ठूलो आक्रमण गर्ने तयारीमा रहेको मिडियाले उल्लेख गरेका छन् । 

पंजशीरमा तालिबानलाई चुनौती

पंजशीरका नेता अहमद शाह मसूदका ३२ वर्षीय छोरा अहमद शाहले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने इलाकालाई तालिबानका लागि नसुम्पने बताएका छन् । यद्यपि उनले युद्ध नचाहेको बताएका छन् । तर, तालिबानसँग वार्ताको गुञ्जायस नहुने हो भने युद्धलाई पनि रोक्न नसक्ने उनले बताएका छन् । 

यस्तो अवस्थामा पंजीशरका लडाकुले आफूलाई तयारी अवस्थामा राखेको सञ्चारमाध्यमले लेखेका छन् । समाचारअनुसार तालिबान जस्तोसुकै अवस्थामा पनि पंजशीरमाथि कब्जा गर्न चाहन्छ । यो इलाका कब्जा नगरी तालिबानलाई सरकार चलाउन निकै अप्ठ्यारो हुने विश्लेषण गरिएको छ । 

सरकार निर्माणको नजिकमा तालिबान

सञ्चारमाध्यमका अनुसार तालिबानका लागि सरकार निर्माण गर्न अप्ठ्यारो हुनसक्छ । तर त्यसतर्फ निश्चितरुपमै तालिबान अघि बढिसकेको छ । तालिबानी नेताहरुले कयौं अफगानी नेतासँग भेटवार्ता गरिरहेका छन् । काबुलमा केही महत्वपूर्ण बैठक सम्पन्न भएको छ । पूर्व राष्ट्रपति हामिद कारजाईसँग पनि तालिबान नेताले कुराकानी गरिरहेका छन् । हक्कानी नेटवर्कलाई पनि सँगै लैजाने विषयमा छलफल भइरहेको छ । तर यतिबेला पंजीशरका लडाकूविरुद्ध पार पाउनु तालिबानका लागि निकै नै ठूलो चुनौती सावित भइरहेको छ । 

यस अघि निर्वासित अफगान राष्ट्रपति असरफ घानीको सरकारका रक्षा मन्त्री जनरल बिस्मिल्लाह मोहम्मदीले पंजीशरको सुरक्षा गरिरहने अभिव्यक्ति दिएका थिए । पंजशीरमा तालिबानसँग टक्कर लिनका लागि १० हजार लडाकू तयार रहेको बताइएको थियो । जनरल मोहम्मदीले संघर्ष निरन्तर रहने बताएका थिए ।