पाँचथर  / पूर्वी नेपालको एउटा याक्थुङ (लिम्बू) गाउँ । त्यहिं गाउँमा जन्मि हुर्केर उच्च शिक्षा अध्ययन गरेका निङ्वासो साँस्कृतिक पुनर्जागरणको अभियानमा लाग्छन् । पढाई सकेर गाउँ फर्केपछि केःलाङ् मञ्च बनाउछन् । उनी त्यसका अध्यक्ष बन्छन् । ‘एक घर, एक च्याब्रुङ निर्माण’ को अभियान चलाउछन् । त्यहिंबेला उनलाई गाई मारेको आरोपमा प्रहरीले गिरफ्तार गरेपछि लिम्बू कथानक चलचित्र ‘केः’ को कथाले फरक मोड लिन्छ । 

‘केः’ अर्थात् ‘च्याब्रुङ’ । याक्थुङ (लिम्बू) जातिको साँस्कृतिक बाजा । बिबाह उत्सव, नयाँ घर सर्दा अनि विभिन्न पर्व र अवशरहरुमा च्याब्रुङ नाच्ने परम्परा छ । याक्थुङ (लिम्बू) समुदायमा यसको आफ्नै किसिमको साँस्कृतिक महत्व, मान्यता र लोक विश्वास छ । आफ्नै किसिमको मिथ छ । झण्डै मादल आकृतिको तर ठूलो च्याब्रुङ बाजा निर्माण गर्न गाई वा गोरुको छाला आवस्यक पर्छ । तर, नेपालमा कानूनतः गाई वा गोरु मार्न बन्देज  छ । चलचित्र ‘केः’ को कथा निकै गम्भिर र संवेदनशील साँस्कृतिक सवालहरु उठाउदै यहिं शन्दर्भ र प्रशंगको वरिपरि घुम्छ । 

यहिं अगस्त २१ र २२ मा अमेरिकाको न्यूयोर्कमा सम्पन्न फिप्ना आदिबासी चलचित्र महोत्सवमा ‘वेस्ट स्टोरी’ अवार्ड जितेसँगै चलचित्र ‘केः’ याक्थुङ (लिम्बू) मातृभाषि फिल्महरुमा चार वटा अवार्ड जित्ने एक्लो फिल्म बनेको छ । हालसम्म अन्य कुनै पनि याक्थुङ (लिम्बू) मातृभाषि फिल्महरुले यतिको संख्यामा अवार्ड प्राप्त गरेका छैनन् । ‘केः’ ले यसअघि नेपाल आदिबासी जनजाति चलचित्र महोत्सव २०७६ मा सर्बोकृष्ट अवार्ड, एफएलएफ अवार्ड २०२० मा उत्कृष्ट अवार्ड र जोमो गान फिल्म अवार्ड २०२० थाइल्याण्डमा टप सेलेक्सन अवार्ड प्राप्त गरेको थियो । 

‘केः’ का लेखक, निर्देशक सागर केरुङ यसलाई डेढ दशक लामो आफ्नो मिहेनत, साधना र तपश्याको प्रतिफल ठान्छन् । ‘मोफसलको पनि दूरदराज मानिने पाँचथरमा बसेर चलचित्रकर्म गर्नु आफैंमा गाह्रो काम हो’ उनी भन्छन् ‘अप्ठ्यारा र कठिनाईकाबीच पनि हामीले निरन्तर फिल्मकर्म गरिरहेका छौं, जसरी हामी इमानदारपूर्वक काममा घोटिएका छौं, हाम्रा फिल्महरु राष्ट्रिय, अन्तराष्ट्रिस्तरमा अवार्डेट हुँदा खुसी लाग्छ ।’ सागर डेढ दशकदेखि चलचित्र लेखन, निर्देशन र निर्माणमा सक्रिय छन् ।

‘केः’ की नायीका बबिता फोम्बोले आफूले अभिनय गरेको फिल्मले एकपछि अर्को अवार्ड प्राप्त गर्दा आफूमाथि थप चुनौति थपिएको महसुस भएको प्रतिक्रिया दिइन् । उनले भनिन् ‘केः’ का लागि जति मिहेनत गरेको थिएँ, आगामी दिनमा अझ धेरै गर्नेछु । याक्थुङ फिल्मस् प्रा.लि.का लागि सागरसँगै, टाइसन केरुङ र बुद्धराज लिम्बूको २० लाख लागतमा निर्मित ‘केः’ मा सञ्जय आचार्यको छायाङ्कन, मेगराज मगरातीको ड्रोन अपरेटिङ, प्रेम पन्दाकको संगीत र अनिल महर्जनको सम्पादन रहेको छ । 

पाँचथरका विभिन्न धार्मिक, ऐतिहासिक र रमणीय स्थानहरुमा छायाङ्कन गरिएको ‘केः’ मा मधुराज केरुङ, बबिता फोम्बो, प्रेम ओझा, रुपा आङ्बुहाङ, मनकुमार केरुङ, सुक्मिता केरुङ, डिआर हाङसरुम्बा, कमल घिमिरे, संघर्ष खतिवडा, दीपक खनाल, अप्सरा न्यौपाने, सन्देश सुब्बा लगायतले अभिनय गरेका छन् ।