इटहरी। इटहरी र तरहरा बीचको बाटो अहिले बेहुली झैं सिँगारिँदै छ । रानी–विराटनगर–इटहरी–धरान निर्माणाधीन ६ लेन सडक अन्तर्गत इटहरीदेखि तरहरासम्मको यो सडक अहिले चिटिक्क देखिन्छ । इटहरी र तरहराबीचको ३ किलोमिटर सडक अहिले हेरौं हेरौंलाग्दो भएको छ ।

सडकको बीचमा सोलार बत्ती समेत जडान गरिएको छ भने बीचमा फूलसमेत रोपिएको छ । अहिले यात्रुहरू सवारी रोकेरै कोही फोटो खिच्ने त कोही टिकटक बनाउन व्यस्त देखिन्छन् । अहिले यो सडकको तस्बिरहरू अधिकांशले सामाजिक सञ्जालमा पोष्टसमेत गर्ने गरेका छन् । सडकलाई अझै सिँगारिँदै छ । सडक आसपासको क्षेत्रमा सफासुग्घर गर्ने काम अहिले पनि धमाधम भइरहेको छ ।

निर्माणाधीन ६ लेन सडक परियोजना आशिष निर्माण सेवाका इञ्जिनियर सागर बडालले भने सडक निकै सुन्दर देखिएको छ । यो बीचमा जडान गरिएका ५३ वटा सोलार बत्ती रातभर बल्ने गरेको छ । अहिले सो क्षेत्र झलमल्ल हुने गरेको उनी बताउँछन् ।  ‘सडकको बीचमा घाँस रोप्ने काम पनि गरिसकेका छौँ’ –बडालले भने । सडकको दायाँबायाँ गरी ८२ फिटमा काम गरेको उनको भनाइ छ । 

गाडी कुद्नेबाहेकको डेढ मिटरको ड्रेन छ, यसलाई फुटपाथका रूपमा प्रयोग गरिने ६ लेन सडक आयोजनाका इञ्जिनियर उपेन्द्र दासले बताए । अहिले ६ लेन सडक निर्माणको काम धमाधम भइरहेको भन्दै तरहरादेखि इटहरीसम्मको केही किलोमिटर सडक–खण्ड भने निकै सुन्दर देखिएको उनी बताउँछन् । फुटपाथलाई पार्किङ प्रयोजनकै लागि भने उपयोग गर्न नपाइने उनको भनाइ छ ।

रानी–विराटनगर–इटहरी–धरान निर्माणाधीन ६ लेन सडक राष्ट्रिय गौरवको आयोजना हो । हाल विभिन्न १७ ठाउँमा धमाधम काम भइरहेको सडक आयोजनाका इञ्जिनियर दास बताउँछन् । ‘धरानको तीनकुने सम्म हामीले ०७९–८० साल भित्रमा सक्ने लक्ष्य राखेका छौं’ –उनी भन्छन् । इटहरीको विराटनगरलाइनमा घरवालाहरूले लगाएको मुद्दा किनारा नलाग्दा काम अझै द्रुत गतिमा अगाडि बढ्न सकेको छैन ।

इटहरीदेखि तरहरासम्मको ५ किलोमिटर सडक–खण्ड अत्याधुनिक बन्दैछ । सडकको बीच भागबाट २५–२५ मिटर दायाँ बायाँसम्म सडक फैलिएको छ । सडकको बीच भागमा ३ मिटरको बगैंचा निर्माण भएको छ ।  बगैंचाको बीचमा सोलार बत्ती जडान गरिएको छ । सडकको दायाँबाँया फुटपाथ र साइकल लेन हुनेछ । यो सडक–खण्डमा दोहोरो गाडी कुदाउन मिल्ने सर्भिस लेन रहेको ६ लेन सडक आयोजनाले जनाएको छ ।

सरकारले विराटनगरदेखि सुनसरीको धरानसम्मको ४९ किलोमिटर सडक ६ लेनको बनाउन १० अर्ब ५८ करोड रुपैयाँमा ठेक्का लगाएको थियो । यो सडक निर्माण आर्थिक वर्ष २०७५÷७६ भित्र गरिसक्नुप् र्ने सम्झौता थियो । तर, अहिले पनि निर्माण कार्य सम्पन्न भएको छैन । अझै केही वर्ष लाग्न सक्ने आयोजना बताउँछ ।