धरान । धरानमा होटल व्यवस्थापन सङ्कायमा नाम कमाएको युएन–नवोदय कलेजको कक्षा ११ मा भर्ना हुन चाहने विद्यार्थीलाई लक्षित गर्दै प्रवेश परीक्षा लिइएको छ ।
बिहीबार कलेजले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गर्दै प्रवेश परीक्षा लिइएको हो । क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोका अनुसार भौतिक उपस्थिति र अनलाइन गरी ३ सय ६० जना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् ।
कलेजले स्वास्थ्य मापदण्ड पूरा गरी भौतिक उपस्थितिमा सहभागी भएका २ सय ५० विद्यार्थीको परीक्षा लिएको थियो । त्यस्तै अनलाइनमा १ सय १० जना सहभागी बनेको उनले जानकारी दिए ।
विगत वर्षहरुभन्दा यस वर्ष विद्यार्थीहरुको प्रवेश परीक्षामा उपस्थिति उल्लेख्य भएको उनले जानकारी दिए । यसै शैक्षिक सत्रबाट कलेजले विज्ञान, कम्प्युटर विज्ञान र खाद्य तथा पोषण विज्ञान अध्यापन सुरू गरेको छ । त्यस्तै विगत वर्षहरुदेखि नै सञ्चालित होटल व्यवस्थापन र व्यवस्थापन सङ्काय जारी नै रहेको उनले जानकारी दिए ।
होटल व्यवस्थापनमा प्रदेश १ मा युएन–नवोदय कलेज उत्कृष्ट हुँदै आएको छ । एसईईमा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरुलाई छात्रवृत्तिको पनि व्यवस्था गरिएको कलेजले जनाएको छ ।
कलेजले शैक्षिकका अलावा अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिने गरेको छ । विद्यार्थीहरुको शारीरिक, मानसिक र बौद्धिक विकासका लागि अतिरिक्त क्रियाकलाप गराउँदै आएको छ । ब्युटी पेजेन्टदेखि लिएर विभिन्न खालका अन्य कार्यक्रम पनि गराउँदै आएको छ ।
विज्ञान सङ्कायलाई पनि प्रदेश १ कै उत्कृष्ट बनाउनेतर्फ लागी परेको कलेजले जनाएको छ । गुणस्तरीय शिक्षासँगै वैज्ञानिक बन्नका लागि विद्यार्थीलाई प्रेरित गर्दै आएको कलेजका प्राचार्य तुम्बापोले जानकारी दिए ।