इटहरी/ काम गर्ने जाँगर र हातमा सीप भए पैसा कमाउन विदेश जानु पर्दैन, नेपालमै बसेर आकर्षक रूपमा दाम र नाम कमाउन सकिन्छ भन्ने कुराको गतिलो उदाहरण हुन् इटहरीका मूर्तिकार अभिषेक तिम्सिना । मूर्तिकलामा स्थापित भइसकेका तिम्सिनालाई अहिले मूर्ति बनाउन भ्याई नभ्याई छ ।

पछिल्लो समय पर्यटन क्षेत्रमा लगानी बढेसँगै मूर्तिकार तिम्सिनालाई अहिले एक मिनेट फुर्सद छैन । परिवारको जीविकोपार्जनकै लागि वर्षाैंदेखि मूर्ति बनाउने पेशामा लागेका उनले दर्जनभन्दा बढीलाई रोजगारीसमेत दिइरहेका छन् । इटहरी–१ आँपगाछीमा मूर्ति बनाउँदै गर्दा भेटिएका तिम्सिना भन्छन्, ‘मिहिनेतले नै पेशामा बाँचेको छु ।’

इटहरीकै बिसनपुरमा राख्न लागिएको जननेता मदन भण्डारीको मूर्ति भर्खरै मात्र सकेका छन् । साथै इटहरी–६ मा राख्न लागिएको जननेता बीपी कोइरालाको मूर्ति पनि बनाइसकेका छन् । त्यस्तै इटहरीका पुराना बासिन्दा इटहरी अस्पतालका जग्गादाता धर्मनारायण चौधरीको मूर्ति पनि यही महिनामा सकिएको छ । जस्ताको त्यस्तै चिटिक्क मूर्ति बनाउने अभिषेकलाई अहिले मूर्ति बनाउन भ्याई नभ्याई हुने गरेको छ ।

२०७३ साल पुसमा पूर्वाञ्चल विकास क्षेत्रमा आयोजना भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उदटनस्थल विराटनगरको सहिद रङ्गशालाको चमक छुट्टै थियो । रङ्गशालामा विभिन्न कलाकृतिका साथै सातौं राष्ट्रिय खेलकुदको मस्कट अर्नाको मूर्ति बनाएका अभिषेकको हाई हाई नै भयो । लामो समयदेखि मूर्तिकलामा संलग्न रहँदै आएका अभिषेकले सातौं र आठौं राष्ट्रिय खेलकुदको मस्कटलाई सजाउने कामले थप चर्चा पायो ।

२०४९ सालदेखि मूर्तिकलाको काम गर्दै आएका अभिषेकले विभिन्न पार्क, स्मारक सजाउनेदेखि विभिन्न ख्यातिप्राप्त नेताहरूको मूर्ति बनाउँदै आएका छन् । सुरुवाती दिनमा तिम्सिनाले तत्कालीन राजा वीरेन्द्र आउँदा आफूले सडक पेटीमा विभिन्न मूर्तिहरू बेच्ने गरेको दिन सम्झन्छन् । उनी भन्छन्, ‘मलाई मूर्तिकार बनाउनुमा मेरा दाजु विक्रमश्रिको मुख्य हात छ । सुरुवाती समयमा निकै दुःख व्यहोरेर आफूले मूर्ति बनाउन सुरु गरेको तिम्सिना सम्झन्छन् ।

अभिषेकले कटारीचोकको भूगोलपार्क, मदन भण्डारी पार्कलगायत पार्क र सहिद स्मारक सजाउने र तिनको मास्टर प्लानको काम पनि गरिसकेका छन् । यसैगरी बीपी सङ्ग्रहालयमा विभिन्न नेताहरूको मूर्ति पनि उनले कुँदिसकेका छन् । उनले पाँचथर, झापादेखि बाँकेसम्म पुगेर पार्क, स्मारक बनाउने र कलाकृति बनाउने काम गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सञ्चालन गरेको मेची–काली रथयात्राको डिजाइन पनि उनले नै गरेका थिए । घोडाको बग्गीमा उनले आकर्षक कला भरेका थिए । ‘मैले इटहरीमै बनाएको त्यो रथ अहिले पनि सम्झनलायक छ’ उनी भन्छन्, ‘पूर्वमन्त्री रामकुमार सुब्बाले त्यो रथ असाध्यै मन पराउनुभयो ।’

अभिषेकले फाइबर, ढलोट, सिमेन्ट र ढुङ्गाबाट कलाकृति बनाउँदै आएका छन् । अभिषेकको वर्कसप इटहरीको आँपगाछीमा छ । वर्कसपमा दैनिक १० देखि १२ जनाले काम गर्दै आएका छन् । अभिषेकले डिजाइन गरेका कलाकृति र मूर्ति उनीहरूले कुँद्ने र रङ भर्ने काम गर्दै आएका छन् । उनी कलाकृतिका काममा पहिलेभन्दा निकै सुधार आएको बताउँछन् । यो पेसालाई अझ व्यावसायिक बनाउन माटोको मूर्तिलाई पकाएर बनाउने टेराडोरा प्रविधि ल्याउने तयारी गरेको उनले बताए ।

उनले निर्माण गरेको सबैभन्दा महँगो स्मारक कटारी चोक हो । कटारी चोक उनले ४२ लाख रुपैयाँमा निर्माण गरेका थिए । यसैगरी बेतिनी सिमसार ३८ लाख र खेलकुदका मस्कटलगायतका संरचना ४० लाखमा निर्माण गरेका थिए । अहिले पनि थुप्रै संरचना निर्माण गरिरहेका छन् । उनले यही पेशाबाट राम्रैसँग परिवार पाल्न सकेका छन् । उनी सबै खर्च कटाएर वार्षिक १५ लाख रुपैयाँ बचत गर्ने गरेको बताउँछन् ।

भद्राकाली कलाकुञ्जमा ग्राहकको मागअनुसार कुनै मूर्ति बनाउँदा मिहिनेत अनुसारको पारिश्रमिक लिँदै आएको बताउँछन् । उनले एक मूर्तिको पारिश्रमिक १५ हजारदेखि सात लाखसम्म लिने गरेको बताए । नेपालमा व्यावसायिक रूपमा मूर्तिकलामा लाग्नेहरू औंलामा गन्न सकिने सङ्ख्यामा मात्र छन् । त्यसमध्ये तिम्सिना पनि एक हुन् । तिम्सिनाको यो जोस, जाँगर र सिर्जनालाई अहिलेको पुस्ताले पनि प्रेरणाका रूपमा लिन सक्छन् । इटहरीका मूर्तिकार अभिषेक