पथरी / मोरङको पथरीशनिश्चरे–२, स्थित हरियाली सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष काबुलबहादुर मगर (बिकास)लाई सामुदायिक वन अभियान्ता पुरस्कारबाट सम्मान भएका छन् । 

मगरलाई नेपाल सरकार, वन मन्त्रालय, वन तथा भूसंरक्षण विभागले “राष्ट्रि सामुदायिक वन अभियान्ता सम्मान–२०७८” प्रदान गरेको हो । सामुदायिक वन दिवसको अवसरमा काठमाडौंमा भएको कार्यक्रममा वन तथा वातावरण मन्त्रालयको सचिव डा.प्रेमनारायण कँडेल, वन तथा भूसंरक्षण विभागको मनबहादुर खड्का लगायतको उपस्थितिमा राष्ट्रिय सम्माण प्रदान गरिएको हो । 

सोमबार भएको कार्यक्रममा धनुषा जिल्लाको भाटीघारी सामुदायिकलाई प्रथम, फुर्केटारी साबउस कास्की र बुद्ध साबउस वन रुपन्देहीको दोस्रो र १ नम्बर प्रदेश स्थित मोरङ लेटाङको जनसेवा र नमुना सामुदायिक वन उपभोक्ता समूह गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय सान्वना पुरस्कार प्राप्त गरेको हो ।

पुरस्कार एक लाख, ५० र २५ हजार नगद राशीसहितको हो । कर्मचारीमा गणेशबहादुर साही पुरस्कार डिभिजन वन कार्यालय मोरङका प्रमुख अनिरुद्र साहले प्राप्त गरेका थिए । 

गणेशमानसिंह पुरस्कार वन क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार हो । पथरीशनिश्चरेको हरियाली वनले २०७५÷०७६ मा प्रथम पुरस्कार प्राप्त गरेको थियो । वन ब्यवस्थापन र प्राप्त श्रोतको सहि सदुपयोग गरेकोमा हरियालीले प्रथम पाउनु अघि गणेशमानकै सान्वना, मोरङ जिल्ला प्रथम लगायतको पाँच भन्दा बढी पुरस्कार प्राप्त गरिसकेको छ । 

अध्यक्ष मगरले राष्ट्रकै “सामुदायिक वन अभियान्ता सम्मान–२०७८” प्राप्त गरेपछि मंगलबार हरियाली सामुदायिक वन उपभोक्ता समूहले बधाई, शुभकामना तथा पत्रकार भेटघाट गरी खुसियाली बाँडेको छ । 

कार्यक्रममा समूहको पूर्ब अध्यक्ष तथा सल्लाहकार देविप्रसाद भेट्वाल, रिता गिरी, हरियाली सामुदायिक वन पब्लिक लिमिटेडका अध्यक्ष अशोक राई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समिति अध्यक्ष अर्जुन जम्नेली राई लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

बक्ताहरुले राष्ट्रले वन अभियान्ताको रुपमा सम्मान गरेपछि आफ्नो मात्र नभएर नगर, जिल्ला, प्रदेश र देशकै सामुदायिक वनहरुको स्थिति सुधारमा लाग्नुपर्ने सुझाव दिएका थिए । बधाई तथा शुभकामना लिने क्रममा अध्यक्ष काबुलबहादुर मगरले कार्ययोजना मात्र जस्ताको तस्तै कार्यान्वयन गरे मात्र वनहरु सुधारमा आउने बताए ।