इटहरी। प्रदेश १ को उदीयमान सहर इटहरी समसाँझै बन्द हुन्छ । सर्वसाधारणहरूको तीव्र गुनासो बढेपछि उपमहानगरले आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रममै रात्रिकालीन बजार सञ्चालन गर्ने योजना बनाए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।
पूर्वमै नमुना रात्रिकालीन बजार सञ्चालन गर्ने अभियान अलपत्रजस्तै हुन पुगेको छ । रात्रिकालीन बजारकै लागि छुट्याएको करिब २० लाख रुपैयाँ खर्च भइसकेको छ । इटहरीमा रात्रिकालीन बजार लाग्ने भन्ने समाचार सुनेर उत्साहित भएका इटहरीवासीको सपना पूरा हुन नसकेको इटहरी–४ आइतबारेकी किराना पसल सञ्चालिका उर्मिलादेवी खनाल बताउँछिन् ।
इटहरीका किराना, औषधि पसललगायतका अत्यावश्यक पसलहरू राति ८ बजे नै बन्द हुँदा सर्वसाधारणले सुविधा पाउन सकेका छैनन् । बजार सञ्चालन गरिने भएपछि स्थानीय टोलवासीहरू उत्साहित भएका थिए । तर, बजार सञ्चालनमा नआउँदा आफूहरूको उत्साह निराशामा परिणत भएको बताउँछन् स्थानीय होटल व्यवसायी सर्वन चौधरी । उनी भन्छन्, ‘खै, यो वर्ष पनि बजार लागेन ।’
इटहरी नगरसभाले सहरको मुख्य क्षेत्रको रूपमा इटहरी चोकको सौन्दर्य बढाउन नमुना रात्रिबजार लगाउने भन्दै ४० लाख रुपैयाँ छुट्याएको छ । चालु आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने क्रममा उपप्रमुख लक्ष्मी गौतमले सुरक्षा निकायसँग पनि आवश्यक समन्वय गरी बजार निर्माण गर्न ४० लाख बजेट विनियोजन गरेको घोषणा गरेकी थिइन् । सोही शीर्षकबाट २० लाखभन्दा बढी बजेट खर्च भए पनि बजार भने सुरु हुन सकेन ।
रात्रिकालीन बजारको लागि आइतबारेदेखि टेलिकमसम्मको बाटोमा सोलार लाइट, सिसीटिभी क्यामेर जडान गर्नेदेखि लिएर शौचालय र प्रहरी बिट राख्ने काम सकिएको रात्रिकालीन बजार व्यवस्थापन समितिका संयोजक कृष्ण भट्टराईले बताए । सडक मर्मतदेखि धेरै काम भएको भट्टराईको भनाइ छ । ‘आर्थिक उन्नति र पर्यटन प्रवद्र्धनका लागि रात्रिकालीन बजार सञ्चालन गर्न लागिएको थियो तर, खै सञ्चालनमा आउन सकेन’–संयोजक भट्टराई भन्छन् ।
इटहरीका मेयर द्वारिकलाल चौधरीले भने कोरोनाको कारण काम गर्न नसकिएको बताए । ‘बजारमा उपभोग्य सामान, होटेल तथा चमेना गृह र पारिवारिक मनोरञ्जनका अन्य व्यवसायका लागि भनेर तयारी गरेका थियौं तर, कोरोनाको कारण सञ्चालन गर्न असम्भव भयो’उनले भने, ‘रात्रिकालीन बजारका लागि आवश्यक धेरै काम भने पूरा भएका छन् तर, अहिले रात्रिकालीन बजार लगाउन सक्ने समय छैन ।’