बेलबारी। पछिल्लो समय लागूऔषध प्रयोगकर्ताको सङ्ख्या बर्सेनि बढ्दो क्रममा रहेको देखाएको छ । नेपालमा हाल प्रयोगकर्ताको सङ्ख्या एक लाख ३० हजार ४ सय २४ पुगेको छ । नेपालमा लागूऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ ले वार्षिक औषत वृद्धिदर ५ दशमलव ०६ प्रतिशत रहेको देखाएको छ ।

जसमध्ये प्रदेश १ पनि प्रहरीको तथ्याङ्कअनुसार लागूऔषध प्रयोगकर्ताको उच्च जोखिममा देखिन्छ । मुख्यतः प्रयोगकर्ता युवा, किशोर किशोरीको सङ्ख्या बढ्दै जानु चिन्ताको विषय बनेको छ । लागूऔषध सामाजिक र आर्थिक विकासका लागि ठूलो चुनौतीको रूपमा खडा भएको छ ।

प्रदेश १ का अन्य जिल्लाभन्दा भारतसँग खुल्ला सिमाना जोडिएका झापा, मोरङ र सुनसरीमा लागूऔषध प्रयोगकर्ता  बढ्दो देखिन्छ । प्रदेश १ मा लागूऔषध अपराध दर्ता सङ्ख्या गत आर्थिक वर्षमा ५ सय ३० रहेकोमा यो वर्ष बढेर ६ सय ८० पुगेको छ । गत आर्थिक वर्ष ०७६/७७ मा ३११.४६७ किलोग्राम बरामद गरेको प्रदेश १ प्रहरीले ०७७/७८ मा १७८९.१११ किलोग्राम बरामद गरेको छ ।

त्यसैगरी ०७६/७७ मा ०.६१ ग्राम बरामद गरिएको चरेस ०७७/७८ मा ह्वात्तै बढेर १३.८६० ग्राम बरामद गर्न सफल भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार लकडाउनका कारण लामो समय विद्यालय जान नपाएका कतिपय विद्यार्थीहरू लागूऔषध प्रयोगकर्ता बन्न पुगेका छन् ।

सामाजिक समस्याको रूपमा रहेको लागूऔषध नियन्त्रणमा प्रहरीले सक्रियता बढाए पनि प्रयोगकर्ताको सङ्ख्यामा भने कमी आउन सकेको छैन । बरु दिन प्रतिदिन बढिरहेको छ । भारतीय बजारबाट आयातित लागूऔषध तराईका सहर हुँदै पहाडी जिल्लामा समेत पुग्ने गरेको छ ।

लागूऔषध दुव्र्यसनीमा जटिल रोगको समस्याका साथै अकालमै मृत्यु हुने, परिवारको बोझ बन्ने, आर्थिक दुरावस्थाले पारिवारिक विचलन ल्याउने अवस्था हुँदाहुँदै पनि युवावर्ग दुव्र्यसनमा फस्ने गरेको बेलबारीस्थित डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम बान्तवा बताउँछन् ।