भद्रपुर/ स्थानीय सरकारको लापारबाहीले नेपाल–भारतको सीमामा राखिएको मुख्य सीमा पिलर बगाएको छ । झापा कचनकवल गाउँपालिका–५ स्थित पाठामारीमा राखिएको ११२ नम्बर सीमा पिलर बगाएको हो ।
केही दिनको अविरल वर्षाले नेपाल–भारतको सीमा भएर बग्ने मेची नदीमा पानीको बहाव बढेसगै पिलर बगाएको छ । नदीको तटिय क्षेत्र कटानले सोमबार अपरान्ह पिलर बगाएको स्थानीय धनलाल राजवंशीले बताए । सरकारले समयमा नै नदी रोकथाम नगरेका कारण पिलर बगाएको उनको गुनासो छ ।
नदीमा पानीको वहाब बढी भएका कारण पिलर कहाँ छ भन्ने थाहा नभएको उनले जानकारी दिए । स्थानीय सरकार आउने हेर्ने तर केही नगरेका कारण यस्तो घटना भएको अर्का स्थानीय इन्तियाज आलमको आरोप छ । पिलर मात्र हैन बस्ती नै जोखिममा परेको उनले बताए । सरकारले तार जाली गरेको भए पिलरसगै बस्ती पनि सुरक्षित हुने थियो उनले भने ।
नेपाल–भारतको संयुक्त सीमा फिल्ड सर्वे टोलीको लापारबाहीका कारण सीमा क्षेत्रमा राखिएको एउटा मुख्य सीमा पिलर बगाएको जानकारहरु बताउँछन् । स्थानीय सरकार , जिल्ला प्रशासन लगायतका निकायको वेवास्तका कारण सीमा पिलर बगाएको स्थानीयको आरोप छ । नदीले तटीय क्षेत्र कटान गर्ने क्रममा केही दिनअघि मात्र पिलर नजिकै रहेका रुखहरू बगाएर लगेको उनीहरुले बताए ।
मेचीमा पानीको बहाव बढेपछि नदी आसपासका रहेका दुई दर्जन बढी सानो सीमा पिलर पनि डुबानमा परेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका प्रवक्ता तथा डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिए । पिलर बगाएको दक्षिणतर्फ भारतीय बस्ती र पूर्वतर्फ नेपाली बस्ती रहेको छ । मेची नदीले यसरी नै तटीय क्षेत्र कटान गर्दै लैजाने हो भने भारतीय बस्तीसँगै नेपाली बस्ती पनि बगाएर लैजाने खतरा बढेको सो क्षेत्रका नागरिकको भनाइ छ ।
सीमा पिलर जोखिममा रहेको भन्ने बारेमा एक वर्षअघि नै सम्बन्धित निकाय जानकार भएपनि कोरोना महामारीका कारण देखाउँदै त्यसलाई जोगाउन नसकिएको पाइएको छ । नेपाल–भारतको संयुक्त सीमा फिल्ड सर्वे टोलीले सीमा पिलरहरू केही समस्या देखिएमा संयुक्त रुपमा काम गर्नुपर्ने दुवै देशको सरकारको नीति भएपनि कोरोनाले गर्दा डेढ वर्षदेखि झापासँग जोडिएको सीमा पिलरको स्थलगत निरीक्षण हुन नसकेको डिएसपी भण्डारीले बताए ।
झापामा तिरीङ् देखि गौरीगञ्जसम्म रहेको १४४ दशमलव २ मिटर क्षेत्रफलमा ९ सय ८८ वटा सीमा पिलर रहेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका गणपति रमेश कुमार पाण्डेले बताए । जसमध्ये मुख्य सीमा पिलर ११२ बगाएको उनले जानकारी दिए । अन्य केही मुख्य पिलर पनि जोखिममारहेको उनको भनाइ छ ।
मेचीनदी दायाँ वाँया भएर बगेका कारण विचमा रहेका पिलर जोखिममा परेको उनको भनाइ छ । नदीको बहाव कम हुने वित्तिकै यथास्थितीमा देखिने उनले बताए । नेपाल–भारतको संयुक्त सीमा फिल्ड सर्वे टोलीले मात्र गर्ने हुदा एउटै देशले गर्न नसकिने उनको भनाइ छ ।