इटहरी । बढ्दो सहरीकरणसँगै व्यापारिक सुरक्षा र सहरलाई अपराधमुक्त बनाउने उद्देश्यका साथ इटहरीमा जडान भएका सिसी क्यामेराहरू नामै मात्रको हुन पुगेका छन् । इटहरी चोकमा जडान गरिएका क्यामेराहरू मर्मत सम्भार हुन नसक्दा अहिले अधिकांश सिसी क्यामेरा बिग्रिएर थन्किएका छन् ।

इटहरी क्षेत्रको मुख्य राजमार्ग तथा चोकहरूमा जडान गरिएका सिसी क्यामेरा विगत केही समयदेखि बिग्रिएका छन् । सिसी क्यामेरा मर्मत नहुँदा इटहरीमा सुरक्षा चुनौती बढ्दै गएको इटहरी प्रहरीले जनाएको छ । इटहरीको मुख्य चोक आसपास जडान भएका ९ वटा क्यामेरामध्ये धरान लाइनको एउटा क्यामेराले मात्र काम गर्छ । इटहरीको सञ्चार शाखामा काम गर्दै आएका हवल्दार विजय खड्काले भने सबै सिसी क्यामेरा कामै नलाग्ने अवस्थामा बिग्रिएर थन्किएको जनाए । ‘इटहरीको मुख्य चोकमा ९ वटा सिसी क्यामेरा भए पनि एउटाले मात्र काम गर्छ’–उनले भने ।

सिसी क्यामेराकै सहायताबाट इटहरी प्रहरीले अपराध अनुसन्धानमा ठूलो सफलता समेत पाउँदै आएको थियो । केही समय अगाडिसम्म क्यामेराकै सहायतामा दर्जन बढी अपराधी पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीलाई अहिले भने समस्या भएको प्रहरी बताउँछ । इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर केशव कटुवालले भने, ‘सिसी क्यामेरा सबै बिग्रिएका छन् ।’ सिसी क्यामेरा मर्मत नहुँदा समस्या बढ्दै गएको उनी बताउँछन् ।

राजमार्गमा हुने गरेका आपराधिक क्रियाकलाप, दुर्घटना जस्ता घटनाहरूको निगरानीसँगै नियन्त्रण गर्न सहज हुने गरेकोमा क्यामेरा बिग्रिएपछि ट्राफिक प्रहरी पनि थप समस्यामा परेका छन् । रातको समयमा हुने दुर्घटना न्यूनीकरणमा पनि सिसी क्यामेराको पनि ठूलो भूमिका रहेको थियो ।

सुरक्षा व्यवस्था र व्यावसायिक हितमा सहयोग तथा आपराधिक घटना न्यूनीकरणका लागि जडान गरिएका सिसी क्यामेरा बिग्रिएपछि अहिले हात्तीको देखाउने दाँत जस्तै बनेको उद्योग वाणिज्य सङ्घ इटहरीका वरिष्ठ उपाध्यक्ष दिवस पोखरेलले बताए । ‘हामीले बारम्बार मर्मत गरेका थियौं, केही समयदेखि सबै क्यामेराले काम नगर्दा व्यवसायीहरूलाई समेत समस्या भइरहेको छ’ उनले भने, ‘मर्मतको काम इटहरी उपमहानगरले गर्नुपर्ने हो तर, खै उपमहानगरले वास्तै गर्दैन ।’  

शान्ति सुरक्षालाई थप मजबुत बनाउन जडान गरिएका सिसी क्यामेराले काम नगर्दा देखाउन कै लागि मात्रै सिसी क्यामेरा जडान गरे जस्तो भएको छ । सिसी क्यामेरा जडान गरेर मर्मत र रेखदेख नगर्दा जीर्ण बन्दै गएको व्यवसायी गणेश पाण्डे बताउँछन् । उनी भन्छन्, ‘क्यामेरा जडान गरेर मात्र हुन्न, मर्मतमा पनि ध्यान दिनुपर्छ ।’

तरहरा बजारक्षेत्रमा पनि तामझामका साथ जडान भएका क्यामेराहरू बिग्रिएर थन्किएको वर्षौं भइसकेको छ । तरहरा चौक आसपासमा ८ वटा क्यामेरा जडान गरिएका थिए तर, मर्मत भने भएको छैन । सुन–चाँदी व्यवसायी सङ्घ तरहराको पहलमा जडान भएका क्यामेरा अहिले कामै नलाग्ने भएका छन् ।

विभिन्न व्यक्ति तथा सङ्घ–संस्थाले किनिदिएको क्यामेरा जडान भए पनि मर्मत नहुँदा क्यामेरा बिग्रिएपछि कसैले चासो देखाएका छैनन् । बढ्दो सहरीकरणसँगै हुने आपराधिक गतिविधि नियन्त्रण कार्यका लागि सिसी क्यामेरा जडानमा मात्र नभई मर्मतमा पनि सरोकारवालाहरूले ध्यान दिनुपर्ने स्थानीय बताउँछन् ।