ठेक्का सम्झौता भई निर्माण कम्पनीले कार्यदेश पाइसक्दा पनि विराटनगरस्थित कोशी अस्पतालमा अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माणमा ढिलाइ भएको छ । 

अत्याधुनिक भवन निर्माण हुने स्थानमा ‘साइट क्लियर’ हुन नसक्दा निर्माणमा ढिलाइ भएको हो । कोशी अस्पतालको नयाँ बन्ने भवनको जग्गामा नेपाल क्षयरोग निवारण संस्थाको भवन रहेको छ । उक्त भवन खाली गरी संरचना हटाउन कोशी अस्पतालले गरेको पत्रचारलाई क्षयरोग निवारण संस्थाले आनाकानी गरेको कारणले नयाँ भवन निर्माणमा ढिलाइ भएको हो । 

३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसाँ लागतमा पहिलो चरणमा चार तलाको भवन बनाउने सम्झौता २०७८ असार २३ गते निर्माण कम्पनी रमन भूमि बीआईपीएल जेभी र सहकरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वय इकाई विराटनगरबीच भएको थियो । सम्झौता भएको दिनदेखि निर्माण सुरू गर्न निर्माण कम्पनीलाई आयोजनाले कार्यदेश दिएको थियो । तर, निर्माण कम्पनीले आवश्यक उपकरणहरू निर्माण स्थलमा पुर्याएर काम सुरू गर्न लाग्दा साइट क्लियर नहुँदा निर्माणमा ढिलो भएको रमन भूमि बीआईपीएल जेभी विराटनगरका प्रतिनिधि कृष्ण बोहोराले जानकारी दिए । 

‘अस्पतालको भवन निर्माणको सम्झौता भएर काम गर्ने कार्यदेश पाएपछि हामीले २५ असारमा दुई वटा स्काभेटर फिल्डमा लगेर राख्यौं र निर्माण स्थल बाहिर घेराबार गरियो,’ जेभी प्रतिनिधि बोहोराले भने, ‘हामीलाई तीन दिनभित्र साइट क्लियर हुने जानकारी आएको थियो । तर अहिलेसम्म हुन सकेको छैन । साइट क्लियर भए हामी धमाधम काम सुरु गर्ने थियौं ।’ 

समयमै काम सुरू गर्न नसके सम्झौतामा तोकिएको मितिमा निर्माण कार्य सम्पन्न हुन नसक्ने बोहोराले बताए । 

‘जति चाँडो साइट क्लिएर हुन्छ त्यति नै चाँडो काम हुने थियो,’ प्रतिनिधि बोहोराले भने । 

सम्झौता अनुसार कोशी अस्पतालको नयाँ भवन २०८० पुस २२ गते सम्पन्न गरी हस्तान्तरण गर्ने तयारी गरी ठेक्का लगाएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरका सूचना अधिकारी अशोककुमार रामले जानकारी दिए । साइट क्लियर नभएको कारणले निर्माण कार्यमा अवरोध भएको जानकारी आएपछि कोशी अस्पतालाई सहजीकरण गरिदिन पत्राचार गरेको सूचना अधिकारी रामले जानकारी दिए । 

साइट क्लिएर भएलगतै काम सुरु हुने निर्माण कम्पनीदेखि जानकारी आएको उनले बताए । 

यता कोशी अस्पतालका सुपरिटेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले क्षयरोग निवारण संस्थाले भवनभित्र रहेको केही सामानहरू सार्न बाँकी रहेकाले ढिलो भएको बताए । 

‘यसअघि हप्ता दिनभित्रमा भवन खाली गर्ने भनिएको थियो । तोकिएको समयमा नसकिएपछि २–३ दिनभित्रमा भवन खाली गर्ने जानकारी आएको छ,’ मेसु दासले भने, ‘तीन चार दिनभित्र पनि खाली नभए डोजर लगाएर संरचना हटाउनेछौं ।’ 

मेसु दासका अनुसार क्षयरोगको सामान जिल्ला समवन्य समिति मोरङको हलमा सार्ने तयारी गरिएको छ । 

Koshi Hospital Construction Site

कोशीको अत्याधुनिक बन्ने भवनमा साइकट क्लियर नहुँदा काम नगरी निर्माण स्थलमा राखिएका उपकरण । 


यस्तो बन्दैछ कोशीको अत्याधुनिक भवन 

३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसा पहिलो चरणमा अन्डरग्राउण्डसहितको चार तलाको सुविधा सम्पन्न भवन बन्न लागेको हो । बहुवर्षीय योजनाअनुसार मास्टर प्लान बनाएर अस्पतालको ७ तलाको भवन बनाउने योजना छ । 

चार कट्ठा २ धुर जमिनमा बन्ने भवनको पहिलो तलामा आकस्मिक कक्ष हुनेछ । अन्डरग्राउण्ड भवनको भुइँ तलामा पार्किङ हुने स्टिमेटमा उल्लेख गरिएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरका सूचना अधिकारी अशोककुमार रामले जानकारी दिए । 

दोस्रो तलामा एचडियूसहितको आइसोलेसनलगायतका सेवाहरू हुनेछ । यस्तै तेस्रो तलामा नेफ्रोलोजी जनरलसहितको प्रतीक्षालय हुनेछ । तेस्रो तलामा ५० शय्या हुनेछ । यसैगरी चौंथो तलामा कार्डियो र न्यूरोको सेवा रहनेछ । चौथो तलामा ५० शय्या हुनेछ । पहिलो चरणमा संघीय सरकारदेखि ५० करोड ३४ लाख ४४ हजार ७ सय १४ रुपैयाँ लागत अनुमान गरिएकोमा ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसामा रमन भूमिले ठेक्का पाएको हो । 

‘पहिलो चरणमा ४ तलाको भवन बन्ने छ, त्यसपछि योजनाअनुसार तला थप हुँदै जानेछ,’ सूचना अधिकारी रामले भने । 

मास्टर प्लान्ट अनुसार ७ तलाको बनाउने भवनको लागत स्टिमेटमा पाँचौ तलामा ५२ शय्याको जनरल वार्ड र छैठौं तलामा हेल्थ अफ डिपार्टमेन्ट बनाउने उल्लेख छ । हाल ३ सय ५० शय्याको अस्पताल रहेको कोशी अस्पताल सुविधा सम्पन्न भवन बनेपछि ५ सय बेड पु¥याउने अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिए । 

koshi hospital

कोशी अस्पतालको नयाँ बन्ने भवन